खस्यौलीबाट बटौली हुँदै बदलिएको बुटवल

खस्यौलीबाट बटौली हुँदै बदलिएको बुटवल

बुटवल : औद्योगिक, व्यापारिक नगरी बुटवल २० को दशकतिर खस्यौली नामले परिचित थियो। अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार।

अहिले जस्तो पहाडमा सडक थिएनन्। पहाडबाट घ्यू लिएर दिनहुँ हिँडेर बटौली आउँथे स्थानीय। घ्यू बिक्रि गरेर नुन किनेर फर्किन्थे। घ्यूसँग नुन साट्न रातभर जागाराम हुन्थ्यो खस्यौली।

अहिलेको मुख्य बजार क्षेत्रमा नगन्य घर थिए। गुल्जार तिनाउ पारी थियो। पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, स्याङ्जाबाट किनमेलका लागि आउनेहरू बटौलीमा धेरै बस्न मन पराउँथेनन्। त्यो बेला ‘हैजा’को डर थियो।

रैथाने व्यापारी मात्र हैन, भारतबाट समेत व्यापारीहरू बटौलीमा सामान लिएर बिक्री गर्न आउँथे। पारी बटौली बजार गुल्जार हुँदा अहिलेको बुटवल भएको ठाउँमा केही टहरा मात्र थिए।

परिवारका लागि मात्र नभई पहाडिया व्यापारीहरू भरिया लिएर सामान लिन बटौली आउँथे। कति हिँड्दै त कति घोडा लिएर बटौली आउँथे उनीहरू। सामान लिएर आएका गधा, खच्चरका साथै मधेशमा चल्ने लडियाको ताँती नै हुन्थ्यो।

खस्यौली भनिने अहिलेको मुख्य बजारतर्फ भने बस्तीहरू थिएन। बीपी चोक, अमरपथ क्षेत्रतिर केही टहराहरू थिए, जहाँ भारतबाट आएका लाहुरेहरू बास बस्थे।

माथिल्लो पुलको गणेशथानदेखि जितगढीसम्म बटौली बजार थियो। कात्तिकदेखि फागुनसम्म बटौली बजारमा भीड लाग्थ्यो। अहिले बुटवल उपमहनगरपालिका वडा नम्बर १ र २ रहेको क्षेत्र त्यसबेलाको बटौली बजार हो।

बुटवलका पुराना समाजसेवी रविन्द्र प्रसाद लाकौल अहिले बजार बसेको बुटवलमा ठूला ढुङ्गा र बालुवा मात्र भएको बताउँछन्।

उनले भने, ‘सामान किन्न आउने र बिक्रि गर्नेहरूको जमात हुन्थ्यो। बटौलीमा पहाडबाट आएको घ्यू भारतको बनारस, कलकत्ता लगायतका शहरमा पुग्थ्यो। डरलाग्दो थियो उ बेला अहिलेको बुटवल बजार।’
रविन्द्रका आँखामा अहिले पनि तिनाउ सलल सफा बगेको याद छ। माछा समेत तिनाउमा मार्ने गरेको उनी सम्झन्छन्। 

बीसौं शताब्दी अघिदेखि २०३६/०३७ सालसम्म तत्कालीन बटौली र खसौलीको त्यो व्यापार चलिनै रहेको थियो। त्यसयता सिद्धार्थ राजमार्ग खुल्यो र पाल्पासम्म गाडी चल्यो।

२०३७/०३८ सालमा पाल्पाबाट रिडीसम्म मोटरबाटो खुल्यो। त्यसपछि पाल्पा र रिडीको ब्यापार बढ्यो। २०३९ सालतिर तम्घाससम्म मोटरबाटो खुलेपछि भने व्यापारमा विकेन्द्रीकरण सुरू भयो।

त्यसपछि बटौलीले विस्तारै आधुनिक बुटवलको पथमा हिड्यो। नुन किन्न हिँडेर गएको कथा ‘काल्पनिक’ जस्तै लाग्न थाले। दिनानु दिन भइरहेको विकास क्रमले खस्यौलीमा पुर्वधारहरू बढ्दै गए। त्यसपछि आधुनिक बुटवल शहरको रूप लियो।

बटौली बजार बिस्तारै शहरीकरण उन्मुख हुँदै गरेको अवस्थामा तत्कालीन बीपी कोइराला नेतृत्वको सरकारले बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपञ्च्यात नामाकरण गर्यो। तत्कालीन बुटवल-खस्यौली नगर पञ्चायतको पहिलो नेतृत्व मुन्निलाल शाक्यले वि.सं. २०१६ देखि २०१७ सम्म गरे।

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नत्ति भएको हो।

अहिले बुटवल शहर आधुनिक शहरको रूपमा विकास भएको छ। यहाँ ठूला-ठूला पुर्वाधारको निर्माण भएको छ। घ्यूसँग नुन साट्ने बटौली अहिले औद्योगिक, व्यापारीक र शैक्षिक नगरी बुटवल शहरको रूपमा स्थापित भएको छ।

६ लेनका फराकिला र सफा सडकले आधुनिक बुटवलको परिचय बदलिएको छ। ठूला लगानीमा निर्माण गरिएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थल जस्ता योजनाले बुटवलको आवश्यकता दर्साएको छ। तिनाउ र दानव नदीभरी पुलैपुल बन्दा बुटवल आफू मात्र सवल आर्थिक केन्द्र बनेको छैन, भैरहवादेखि मर्चवार सम्मका जनतालाई जोड्ने काम पनि गरेको छ।

ऐतिहासिक नगरी खस्यौलीलाई बुटवल उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर योजना समावेश गर्दै विकास गरिरहेको छ। पारी बुटवल नामले सम्बोधन गर्न थालिएको खस्यौलीमा अहिले पनि आर्कषक बुट्टा सहितका झ्याल, ढोका भएका केही पुराना घरहरू देख्न सकिन्छ। तिनै केही घर नै बटौली थियो भन्ने आँखा अगाडिका साक्षी बनेका छन्।

तिनाउ पारी केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क छ। तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रेजलाई पराजित गरेको स्थान जितगढी छ। अहिले जीतगढीलाई सिँघारिएको छ। पारी बुटवलमै ऐतिहासिक संग्रहालय बनाइएको छ। यसले पुरानो बुटवलको इतिहासलाई बचाइ राख्न सघाएको देखिन्छ।

बसाइँ सराईपछि बनेको बुटवल
२०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सर्यो। पछि ०४६ सालको राजनीतिक परिर्वतनपछि झनै बुटवलमा बसाइसराइ भएर आउने क्रम बढ्यो।

मिलनचोक, राजमार्ग चौराहमा घर बाक्लिए। ०५० तिर सुख्खानगर, दिपनगर, कालिकानगरतिर बस्ती बढ्यो। माओवादी द्वन्द्व ०५२ मा सुरू भएपछि देविनगर, योगिकुटी, होराइजन चोक, जानकीनगर क्षेत्रमा बस्ती बढ्यो।

२०६२/६३ को जनआन्दोलनपछि त बुटवल झर्ने लहडै चल्यो। जानकीनगर, दीपनगर, मणिग्राम, शंकरनगर, भलवारी, मंगलपुर हुँदै भैरहवासम्म बस्ती बस्यो।

पछिल्ला वर्षमा बुटवल आसपासका सेमलार, मोतिपुर, तामनगर, तिलोत्तमा, बेलबास, नयाँगाउँ, शंकरनगर लगायतका ठाउँमा बस्ती बढिरहेको छ। भैरहवामा पनि पहाडी मानिसले भरिन थालेको छ।

बुटवलमा पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, बागलुङ, प्यूठान लगायतका जिल्लाबाट बसाइँसराइ भएको छ।

बुटवल हुँदै फैलिएको विकास र नयाँ योजना
बुटवलमा अहिले विकासको गति तीव्र छ। धेरै समय भएको छैन। बुटवलको ‘बत्तीमुनिको अँध्यारो’को रूपमा मोतिपुर, समेलारलाई चित्रण गर्थे। फर्साटिकर बाट बुटवल आउन पनि पुल थिएन।

तामनगर हुँदै आउँदा पनि बीचमा दानव नदी वर्षायाममा तगारो बन्थ्यो। सैनामैनाका स्थानीय सेमलार आउन तामनगर हुँदै आउनुपर्थ्यो। त्यहाँ पनि दानव नदी तगारो बन्थ्यो। मणिग्राम, ठुटिपिपल आउन पनि पश्चिमबाट तिनाउ पुलको विकल्प थिएन।

तर, अहिले मोतिपुर, सेमलारका जनताहरू बुटवल आउन तिनाउ पुललाई ‘वैकल्पिक’ ठान्छन्। किनकी सेमलार, मोतिपुर बाट बुटवल जोड्न तिनाउ र दानव नदीमा दर्जन बढी पुल बनेका छन्। रोहिणी, घोडाहा खोलामा बनेका पुलले उत्तरी क्षेत्रका जनताहरूले बुटवल र भैरहवासँगको दुरी छोट्याएका छन्।

बुटवलमा आर्थिक चलायमान गराउन सकिने योजनाको रूपमा हेरिएका दुई केवलकार छन्। लुम्बिनी केवलकार सञ्चालनमा आएको छ। सिद्धार्थ केवलकार सञ्चालनको अन्तिम तयारीमा छ। यी दुवै सञ्चालनपछि पर्यटकलाई बुटवलमा एक दिन भए पनि रोक्न सकिने अपेक्षा छ।

बुटवल-नारायणगढ सडक निर्माणाधीन अवस्थामा छ भने बुटवल-चन्द्रौटा सडक निर्माण सुरू हुने तयारीमा छ। बुटवलको विकासको अर्को आयाम तिनाउ नदीमा बन्ने सिग्नेचर पुल हो। यो पनि निर्माणको तयारीमा छ।

आधुनिक बुटवलमा सडक, पुर्वाधारले मात्र फड्को मारेको छैन। शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा पनि आफूलाई अब्बल सावित गर्दैछ। आर्थिक नगरीको पहिचान बनाइसकेको बुटवलमा साँघुरो र पुराना सवारी चढ्नुपर्ने बाध्यता अन्त्य भएको छ। निजी व्यापारिक घरानाले ६ लेनको सडकमा एसी बस चलाएका छन्।

सडक मात्र होइन, हवाई यातायात जिल्लामा छ। झण्डै ८ वर्ष लागेर बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बनेको छ। त्यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भएका छन्। निजी वायुसेवा कम्पनीले अन्य प्रदेशलाई जोड्ने गरी आन्तरिक हवाइ सेवा विस्तार गरिरहेका छन्।

गौतमबुद्ध जन्मस्थल लुम्बिनी मात्र नभई अहिले पर्यटकका नयाँ-नयाँ क्षेत्रको विकास हुँदैछ। बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छ।

त्यस्तै कालिगण्डकी ड्राइभर्सन योजना पनि परिकल्पना गरिएको छ। कालिगण्डकीको पानी तिनाउ नदीमा मिसाउने महत्वकांक्षी योजना अघि बढेको छ। तिनाउ-दानव करिडोरको निर्माणमा काम पनि अगाडि बढेको छ। बुटवल हुँदै दक्षिण बग्ने तिनाउ नदीको दायाँ-बायाँ दुवैतर्फ बन्ने सडक अबको ३ वर्षभित्र सक्ने लक्ष्य छ। 

तिलोत्तमामा अबको बढीमा ५ वर्षपछि बुटवल मेडिकल कलेज बन्ने प्रक्रियामा छ। १११ वर्ष पुरानो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई १० अर्ब लागतमा अत्याधुनिक सेवा सहितका अस्पताल बनाउने काम प्रदेश सरकारले अगाडि बढाएको छ।

स्वास्थ्य, उद्योग, शिक्षाको क्षेत्रमा पनि बुटवलले अग्रणी विकास गरेको छ। १५ वर्षको अन्तरमा हेर्ने हो भने बुटवलमा ठूलो उद्योगहरू स्थापना भएका छन्। मुटु, आँखादेखि ठूला र जटिल प्रकारका अप्रेशन गर्नसक्ने अस्पताल यहाँ बनेका छन्। जुनसुकै विषय अध्ययन गर्न चाहनेहरूका लागि रुपन्देहीमा शैक्षिक संस्थाहरू स्थापना भएका छन्। यहाँ रहेका शैक्षिक संस्थाहरूको नतिजा देशभरमै उत्कृष्ट छ।

बुटवलमा ५ अर्बको खानेपानी योजना सुरू भएको छ। झुम्सा खानेपानी योजनाले मुर्त रूप लिएपछि यस क्षेत्रमा खानेपानीको ठूलो समस्या समधान हुने विश्वास छ। रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनहियामा विद्युत् प्रसारण लाइनका लागि सबस्टेसन तयार भएको छ।

लुम्बिनी गुरुयोजना पनि सम्पन्न हुँदैछ भने लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देहीमा शैक्षिक विकासमा नयाँ लहर ल्याएको छ। रूपन्देहीमा विकासले हरेक सम्भावनालाई देखाएको छ।

प्रदेशकै ठूला सहकारीले लद्यु उद्यममा जोड्ने काम गरेका छन्। शंकरनगरमा रहेको सामुहिक सहकारी, देवदहमा रहेको कोलिय सहकारी र तिलोत्तमामै रहेको जनउत्थान सहकारी जिल्लाका मात्र नभई प्रदेशका नमुना सहकारी हुन। यी सहकारीले सदस्यलाई स्वरोजगार बन्नमा प्रेरित गरिरहेका छन्।

बैंक वित्तीय क्षेत्रले पनि बुटवलमा फड्को मारेको छ। हरेक जसो बैंकको शाखा कार्यालय बुटवलमा छन्।

३० असोज, २०८०, ११:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।