चाडपर्वमा फिल्म रिलिजको प्रतिष्पर्धा : दीपक र रेखाको कब्जाबाट दशैंको डेट उम्कियो
काठमाडौं : दशैंको मौका पारेर फिल्म रिलिज गर्न फिल्म निर्माताहरूबीच हरेक वर्ष तछाडमछाड हुन्छ। केही ब्यानरहरूले त दशैंको डेट छाड्दै छाड्दैनन्। उनीहरूको फिल्म निर्माण नभए मात्र अन्य निर्माताले दशैं अनि तिहारमा रिलिज गर्ने मौका पाउँछन्।
हप्तामा एउटा नेपाली फिल्म रिलिज हुँदा त लगानी उठाउन हम्मे पर्ने अवस्था छ अहिले। तर, चाडपर्वको मोहले एकै मितिमा एकभन्दा बढी फिल्म एकै पटक रिलिज हुने गरेका छन्।
यो वर्ष पनि त्योक्रम भङ्ग भएको छैन। दशैं र तिहारको मिति लक्षित गरेर चार वटा फिल्म प्रदर्शन हुँदैछन् र भइरहेका छन्। असोज १९ मा फिल्म ‘बानर सेना’ रिलिज भयो। असोज २६ गतेदेखि गायक तथा निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ र ‘कौसीद’ एक आपसमा भिडे।
यसअघिका दशैंमा पनि निर्माताहरू दशैं अनि तिहारको मिति पारेर फिल्म रिलिज गर्न मरिहत्ते गर्थे। रेखा थापा, छवि ओझा, अशोक शर्मा, दीपकराज गिरी लगायतका निर्माता तथा निर्देशकहरूले पाएसम्म दशैं अनि तिहारको डेट फुत्किन दिँदैनथे।
प्रकाश सपुत अभिनीत पहिलो फिल्म ‘परदेशी २’ अघिल्लो दशैंमा नै रिलिज गर्ने तयारी गरिए पनि मिति सर्दै यो दशैंसम्म आइपुग्यो। निर्माण टिमले प्राविधिक कार्य नसकिएको भन्दै प्रदर्शन मिति सारेर असोज २६ मा रिलिज गर्यो।
दशैंको फूलपातीको दिन कात्तिक ४ बाट विपिन कार्की अभिनीत फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज हुँदैछ।
दीपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले लगानी गरेका छन्। यो फिल्म ‘परदेशी २’सँग भिड्दै थियो। पछि सम्झौता गरेर एकसाता पछि फिल्मको रिलिज मिति तोकियो।
यसअघिका दशैंमा पनि निर्माताहरू दशैं अनि तिहारको मिति पारेर फिल्म रिलिज गर्न मरिहत्ते गर्थे। रेखा थापा, छवि ओझा, अशोक शर्मा, दीपकराज गिरी लगायतका निर्माता तथा निर्देशकहरूले पाएसम्म दशैं अनि तिहारको डेट फुत्किन दिँदैनथे। यस पटक यी कसैले फिल्म निर्माण गरेनन्।
दशैं-तिहारमा रिलिज हुँदा हिट हुने भ्रम
दश वर्षदेखिको आँकडा हेर्ने हो भने अभिनेत्री तथा निर्मात्री रेखा थापाले अभिनय अनि निर्माण गरेका अधिकांश फिल्महरू दशैंलाई लक्षित गरेर रिलिज हुने गरेको देखिन्छ।
२०७१ को दशैंको फुलपातीमा रेखा आफैंले निर्माण गरेको फिल्म ‘हिम्मतवाली’ प्रदर्शनमा आएको थियो। असोज २५ फूलपातीबाट फिल्म एकलौटी रिलिज भएको थियो।
रेखाले अभिनय गरेका अधिकांश र उनका पूर्वपति तथा निर्माता छवि ओझाका फिल्म पनि दशैं लक्षित गरेरै रिलिज हुने गरेका थिए।
छवि र रेखाका फिल्म रिलिज हुँदा अन्य फिल्मले मौकै पाउँदैनथे। दशैं अनि तिहारमा हलमा उनीहरूको राज नै चल्थ्यो। ७२ सालको दशैंमा रेखा फिल्म्सको फिल्म रिलिज भएन। रेखाको ब्यानर बाहिरका चार वटा फिल्म रिलिज भए।
फिल्म ‘परदेशी’, ‘अधकट्टी’, ‘ठमेल डटकम’ र ‘सुश्री’ फिल्म प्रदर्शनमा आएका थिए। यसमध्ये नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ हिट भयो, अरु फ्लप।
७३ सालको दशैंमा फिल्म ‘सुब्बा साब’ रिलिज भयो। यो फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका थिए भने हीरामणि न्यौपानेले लगानी गरेका थिए।
सोही दिन छविराज ओझाको फिल्म ‘किस्मत २’ प्रदर्शनमा आयो। यो फिल्ममा ‘लज्जा’ बाट नायिकाका रूपमा डेब्यु गरेकी शिल्पा पोखरेल र आर्यन सिग्देलले अभिनय गरेका थिए।
२०७४ को दशैंमा भने रेखा थापाकै फिल्म ‘रुद्रप्रिया’ प्रदर्शनमा आयो। उनको फिल्म कात्तिक २ गते लक्ष्मी पूजाको दिन नेपालभर प्रदर्शनमा आएको थियो, फिल्म त्यति चलेन।
पहिला दशैं-तिहारमा रिलिज भएका कमजोर फिल्मले पनि लगानी उठाएका थिए। त्यसको प्रभाव अहिलेका निर्माता तथा निर्देशकमा परेको हो।
२०७५ को दशैंमा पुराना निर्देशक तथा निर्मातामा रूपमा चिनिएका अशोक शर्माको ‘जय भोले’ र दीपकराज गिरीको ‘छक्का पञ्जा ३’ फूलपातीको दिन रिलिज गर्ने तयारी गरियो।
विवाद भएपछि फिल्म ‘जय भोले’ फूलपाती र ‘छक्का पञ्जा३’ घटस्थापनाको दिन पारेर रिलिज भयो। दीपकलाई डेट फाप्यो, अशोक हिस्स भए।
२०७६ को दशैंको घटस्थापनाको दुई दिनअघि असोज १० गते अशोक शर्माकै फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शनमा आयो।
निर्देशक शर्माकै लेखन तथा निर्माण रहेको यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र उनकै छोरा अंकित शर्माको शीर्ष भूमिका थियो। अंकित यसै फिल्ममार्फत फिल्म नगरीमा प्रवेश गरेका थिए। तर, फिल्मले लगानी पनि उठाउन सकेन।
२०७७ मा कोभिडको महामारी आयो। अधिकांश हल बन्द भए। २०७८ को दशैंको फूलपातीमा दुई नेपाली फिल्म प्रदर्शनमा आए।
शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपिपल’ रिलिज भयो। सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्लको मुख्य भूमिका थियो फिल्ममा। फिल्मलाई दशैं फापेन।
एनबी अन्जान महर्जनले निर्देशन गरेको फिल्म ‘धन्दागिरी’ पनि यही बेलामा प्रदर्शनमा आएको थियो। यो फिल्मले पनि लगानी उठाउन सकेन।
२०७९ सालमा दशैंमा ‘बाबरी’ प्रदर्शनमा आयो। असोज १४ गते प्रदर्शन भएको फिल्म पनि चलेन।
दशैंमा रिलिज गर्न किन प्रतिष्पर्धा !
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, दशैं-तिहारमा लामो समय विदा हुने भएकाले फिल्म चल्छ भन्ने सोचले फिल्म रिलिजका लागि मरिहत्ते गर्ने बताउँछन्।
‘अरू समयमा भन्दा चाडपर्व तथा दशैं-तिहारमा लामो समय छुट्टी हुन्छ। दर्शकले यो समयमा फिल्म हेर्छन् भन्ने मानसिकता फिल्मकर्मीमा हुन्छ,’ उनले भने, ‘त्यसैले निर्माताहरू लगानी सुरक्षित हुने ठानेर यस समयमा फिल्म प्रदर्शन गर्न मरिहत्ते गर्छन्।’
यस समयमा फिल्म चलाउँदा लगानी सुरक्षित भएका थुप्रै उदाहरण पनि नभएका हैनन्। तर, सबै भाग्यमानी कहाँ ठहरिन्छन् र!
अरू समयभन्दा चाडपर्वमा धेरैको छुट्टी हुने हुँदा राम्रो कमाइ गर्ने चाहना राखिन्छ। त्यही भएर निर्माण टिमले यस्तो समयमा फिल्म चलाउन चाहन्छन्।
‘पहिला दशैं-तिहारमा रिलिज भएका कमजोर फिल्मले पनि लगानी उठाएका थिए,’ उनले भने, ‘त्यसको प्रभाव अहिलेका निर्माता तथा निर्देशकमा परेको हो।’
फिल्म वितरक करण श्रेष्ठ क्रेजी पनि नवल खड्काको भनाइमा सहमत देखिए। उनले दशैं-तिहारको समयमा अधिकांश मनोरञ्जनको मुडमा हुने भएकाले फिल्म हेर्न हलमा आउने गरेको उनको दाबी छ।
उनले चाडपर्वमा नेपालमा मात्र नभइ हलिउड, बलिउडमा धार्मिक पर्व लगायतमा पनि फिल्म प्रदर्शनका लागि हानथाप हुने गरेको दाबी गरे।
‘चाडपर्वमा नेपाली सिनेमा मात्र होइन। हलिउड, बलिउड र साउथ इण्डियन फिल्मका निर्माताहरू चाडपर्व भन्ने बित्तिकै रिलिज गर्न थालेका छन्,’ उनले भने, ‘नेपालको तुलनामा दशैं-तिहार रिलेटट फिल्म रहेका हुन्छन्। त्यो भएर पनि यसै समयमा निर्माण टिमले फिल्म रिलिज गर्न चाहन्छन्।’
उनका अनुसार अरू समयमा भन्दा चाडपर्वमा लागेका फिल्महरू अलिक बढी समय चल्ने गरेका छन्। त्यसैले पनि निर्माण पक्षले चाडपर्वमा नै फिल्म रिलिज गर्न प्रयास गर्ने उनले बताए।
‘अरू समय भन्दा चाडपर्वमा धेरैको छुट्टी हुने हुँदा राम्रो कमाइ गर्ने चाहना राखिन्छ,’ उनले भने, ‘त्यस कारण पनि निर्माण टिमले यस्तो समयमा फिल्म चलाउन चाहन्छन्।’
पछिल्लो समय भने निर्माता तथा निर्माण पक्षमा भाइचाराको अवस्था आएकाले नभिडेर सहमतिमै फिल्म चलाउन थालेको करणको भनाइ छ।
‘यस वर्ष अघिल्ला वर्षको तुलनामा नजुधाउने सहमति भएको छ। फूलपातीमा आउने भनिएको दुई वटा फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ असोज २६ र ‘परदेशी २’ कार्तिक ४ मा एक साता अघिपछि फिल्म रिलिज गर्ने सहमति भएको छ। यसले सबैलाई राम्रो होला भन्ने लाग्छ।’
उनले सहमतिमा नै ‘बानर सेना’को रिलिज मिति पनि असोज १९ गते तोकिएको बताए।
निर्देशक ज्ञानेन्द्र देउजा दशैं-तिहारमा दर्शकहरू खर्च गर्ने मनस्थितिमा हुने र मनोरञ्जनमा बढी खर्च गर्ने भएकाले फिल्म प्रदर्शनका लागि निर्माण टिम मरिहत्ते गर्ने गरेको बताउँछन्।
‘दशैं-तिहार सम्पूर्ण नेपालीहरूको चाड पनि भयो। यस समयमा धेरै दिन बिदा हुने र मान्छेहरूमा खर्च गर्ने मनस्थिति पनि हुन्छन्,’ उनले भने, ‘यो समयमा सबैसँग खर्च गर्ने पैसा हुने हुँदा यही समय लक्षित गरेर फिल्म रिलिज गर्छन्।’
असोज २९, २०८० सोमबार ०९:३०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।