मणिपाल अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने दुई जना कारागार चलान

मणिपाल अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने दुई जना कारागार चलान

कास्की : तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन्। उक्त घटनामा संलग्न सात जना भने जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्। 

कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेस हुँदा कास्की जिल्ला अदालतबाट उनीहरूलाई कारबाहीको फैसला गरिएको हो।

प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो। 

यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ। 

यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृत्तकका आफन्तले कुटपिट गरेका थिए।

बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापरबाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए।

असोज २७, २०८० शनिबार ०९:००:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।