दशैंसँग कागजी नोटको धार्मिक-सांस्कृतिक सम्बन्ध छैन, बरु सिक्काको सम्बन्ध छ

दशैंसँग कागजी नोटको धार्मिक-सांस्कृतिक सम्बन्ध छैन, बरु सिक्काको सम्बन्ध छ

काठमाडौं : दशैं-तिहार जस्ता पर्वमा नयाँ नोटको प्रयोग अन्य समयको तुलनामा धेरै हुन्छ। विशेषत दशैंमा मान्यजनबाट टीका लगाएपछि दक्षिणामा नयाँ नोट दिने प्रचलन व्यापक छ।

अबिर, केशरी, चिल्लो लगायतको प्रयोगले नयाँ नोट चाँडै झुत्रे हुने गरेको छ। नयाँ नोट छाप्न सरकारले हरेक पटक अर्बौं रकम खर्च गर्ने गरेको छ। यस्तोमा चाडपर्व लक्षित नयाँ नोटको प्रचलन हटाउन सकिन्न? नयाँ नोटको धार्मिक तथा सांस्कृतिक सम्बन्ध के हो?

त्रिभुवन विश्वविद्यालय, संस्कृति विभागका प्रमुख तथा प्रा.डा. सोमप्रसाद खतिवडाका अनुसार दशैंसँग कागजी नयाँ नोटको धार्मिक तथा सांस्कृतिक सम्बन्ध छैन। बरु सिक्काको सम्बन्ध छ।

दशैंजस्ता पर्वमा धेरै नोट चाहिने हुँदा नेपाल राष्ट्र बैंकले दशैंलक्षित गरेर नयाँ नोट बजारमा ल्याउन थाल्यो। आफ्ना अग्रजले चाडपर्वमा नयाँ नोट चलाएको देखेकाहरूले त्यसैलाई निरन्तरता दिँदा दशैंको दक्षिणामा नयाँ नोट संस्कारजस्तै बन्यो।

‘दशैंमा नयाँ नोट चाहिन्छ भन्ने कुनै धार्मिक, सांस्कृतिक सम्बन्ध छैन,’ उनले भने, ‘यो खाली चलनचल्ती मात्रै हो।’

नेपालमा नोट विक्रम सम्वत् २००२ बाट मात्र छापिन थालेकाले नयाँ नोटको दशैंसँग धार्मिक तथा सांस्कृतिक सम्बन्धको लामो इतिहाससमेत नभएको उनले बताए।

‘नोट निकाल्न थालेकै २००२ सालदेखि हो। त्यो भन्दा अघि नोट निस्कँदैनथ्यो। सिक्का थियो’, उनले भने।

त्यसैले दशैंमा नयाँ नोट छाप्ने र चलाउने चलन सम्भवत २०४० सालपछि तीव्र भएको उनको अनुमान छ। नयाँ नोट छापिन थालेपछि नै दशैंमा नयाँ नोटको चल्न थालेको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्।

‘जब नोटको प्रचलन आयो त्यसपछि शुभकार्यमा नयाँ खोज्ने चलन भयो’, खनालले भने।

दशैं तिहारको समयमा अन्य समयमा भन्दा नयाँ नोटको माग बढी नै हुने उनको सोही समयको लागि भनेर राष्ट्र बैंकले पनि नयाँ नोट छाप्ने गरेको उनको भनाइ छ।

देवतालाई धातुका सिक्का चढाउने परम्परा
देवीदेवतालाई धातुका नयाँ सिक्का (पैसा) चढाउने चलन भने परम्परादेखि चल्दै आएको प्रा. डा. खतिवडाले बताए। 

उनका अनुसार ‘राम’, ‘लखन-लक्ष्मण’, ‘हनुमान’, लेखिएका धातुका सिक्का पैसा चढाउने परम्परा रहेको थियो। यस्तो लेखिएका सिक्कालाई कतिपयले महाभारतकालका पैसा भनेर पनि बुझ्दथे।

तर, वास्तिविक रूपमा त्यस्ता धातुका सिक्का महाभारतकालका नभएको उनले बताए। धातुका ती सिक्कामा देवनागरी लिपीमा ‘राम’, ‘लखन’, ‘हनुमान’ लेखिएको र देवनागरी लिपीको इतिहास करिव नौ सय वर्षयता मात्रै विकास भएकाले ती पैसा महाभारतकालका नभएको डा. खतिवडाको तर्क छ।

‘देवनागरी लिपीको उत्पत्ति भएको त नौ सय वर्ष मात्रै भयो,’ उनले भने, ‘राम, लखन, हनुमान लेखिएका पैसा त्यसयताका नै हुन्, महाभारतकालका हैनन्।’

तर, संस्कृति विभागका प्रमुख तथा प्रा.डा. खतिवडाका अनुसार राणा शासन सुरु हुनुअघि देवतालाई श्री ३ र राजालाई श्री २ लेख्ने गरिन्थ्यो।

‘पैसामा पनि भवानी लेख्नुपर्यो भने श्री ३ भवानी वा श्री श्री श्री भवानी लेखिन्थ्यो,’ प्रा.डा. खतिवडाले भने, ‘...गोरखनाथ लेख्दा पनि श्री श्री श्री गोरखनाथ लेखिन्थ्यो।’

तर, करिब पाँचसय वर्ष अघिदेखि नै देवताका लागि चढाउने सिक्कामा ‘श्री ३’ र राजाको नामको अगाडी ‘श्री २’ लेख्न थालिएको उनी बताउँछन्।

‘जस्तै राजाको नाम लेख्दा श्री श्री पृथ्वीनारायण शाह, श्री श्री गृर्वाणयुद्धविक्रम शाह, श्री श्री त्रिभूवन लेख्ने चलन थियो’, उनले भने।

राणा शासन सुरू भएपछि राजा भन्दा आफूहरू ठूलो भएको भन्दै राणा शासकहरूले आफूलाई श्री ३ लेखाउन थाले। त्यसपछि फेरि राजा विष्णुको अवतार हुन् भन्ने धार्मिक मान्यताकै कारण राजालाई राणाहरूले नै श्री ५ लेख्न दिएको डा. खतिवडाको आँकलन छ।

यसरी शक्ति राणाले आफ्नो हातमा केन्द्रीत गरे पनि राजालाई भने त्यो बेला पनि आफूभन्दा माथिल्लो तहमा राखेको देखिन्छ। त्यसैले सिक्काको दशैंसँग धार्मिक तथा सांस्कृतिक महत्व रहे पनि नोटको भने कुनै सम्बन्ध नरहेको डा. खतिवडाले बताए।

‘दशैंको बेला नवदुर्गाको पूजा गर्न नौ वटा सिक्का चढाउने लगायतका लागि सिक्काको धार्मिक तथा सांस्कृतिक महत्व छ,’ उनले भने, ‘तर, नोटको भने दशैंसँग केही साँस्कृतिक महत्व छैन।’

अहिले पनि भगवानको नाममा श्री श्री श्री लेखिएका सिक्का छापिने गरेको प्रा.डा. खतिवडा बताउँछन्।

विभिन्न धातुका पैसा
प्रा.डा. खतिवडाका अनुसार भारतवर्षको सबैभन्दा पहिलो मुद्रा आहात (पञ्च मार्कड्) हो, जुन चाँदीबाट बनेको थियो। यो मुद्रा आजभन्दा तीन हजार वर्षअघि निष्कासन भएको पाइन्छ।

आहात मुद्रा करिब एक हजार वर्ष चलेको थियो। त्यसअघि वैदिक काल वा पाँच हजार वर्ष पहिले यहाँ ‘निख्ख नाम गरेको मुद्रा चल्तीमा रहेको विषय साहित्यमा वर्णन गरिएको पाइएको डा. खतिवडाले जानकारी दिए।

निख्ख चाँदीका टुक्रा थिए, जसलाई पैसाका रूपमा चलाइन्थ्यो। त्यस्तो धातुको टुक्राको माला पनि लगाइन्थ्यो। तर, निख्ख साहित्यमा चर्चित भए पनि उत्खननबाट प्राप्त भने भएका छैनन्।

उत्तर भारतमा प्रचलित ‘आहात’ नामक मुद्रा नै हालसम्म प्राप्त पहिलो मुद्रा भएको डा. खतिवडा बताउँछन्। त्यसमा मुद्रा निष्काशन गर्ने राजाको नाम र मुद्राको मूल्य भने अंकित थिएन।

त्यो समयमा चाँदीका टुक्रालाई नै पैसाको रूपमा चलाएको उनले बताए। आहात मुद्रा व्यापारी र राजाले पनि निकाल्थे। तर, व्यापारीले निकालेको मुद्रामा भने राजाले छाप लगाउनु पर्दथ्यो। त्यसरी राजाकहाँ छाप लगाउन लगिएका पैसामा चन्द्र, सूर्य, हात्ती, रुख, घोडा लगायतको चिह्न थिचेर छाप लगाइन्थ्यो।

त्यसैले ‘आहात’ नामको मुद्रालाई पञ्चमार्क पनि भनिन्थ्यो। यो आहात नाम गरेको पैसा काठमाडौंमा समेत पाइएको डा. खतिवडाले जानकारी दिए।

उत्तर भारत क्षेत्रबाट व्यापारिक सिलसिलामा नेपालमा यो मुद्रा भित्रिएको उनले बताए। उत्तर भारतको ठूलो क्षेत्र अनि नेपालका लुम्बिनी, कपिलवस्तु, पूर्वी नेपालका केही भागलगायतमा यो मुद्रा करिब एक हजार वर्ष चलेको डा. खतिवडाले बताए।

त्यसैगरी नेपालमा भने ‘श्री मानाङ्क’ नाम लेखिएको मुद्रा नै पहिलो भएको तथ्य पाइएको डा. खतिवडा बताउँछन्।  लिच्छवि राजा मानदेवले वि. सं. ५२१ तिर यो मुद्रा चलाएका थिए। यो तामाको पैसा हो। यो मुद्रामा पनि राजाको नाम नलेखिएको र कति पैसा हो भन्ने पनि उल्लेख थिएन।

नेपालमा प्राचीन कालमा ‘श्री मानाङ्क’, ‘गुणांक’, ‘श्र्यंशु’, ‘श्र्यंशुवर्मा’, ‘महाराजधिराजस्य’ र ‘कामदोही’ नामका मुद्रा प्रचलनमा थिए। यी सबै तामाका मुद्रा हुन्। त्यसैगरी मध्य कालमा केही सुनका र अन्य सबै चाँदीका मुद्रा बनेका थिए।

मध्यकालमा नेपालका मुद्रा तिब्बतमा पनि चल्दथे। नेपालले नै तिब्बतका लागि पनि मुद्रा बनाइ दिने चलन थियो। यी मुद्राको इतिहासको तथ्यबाट पनि नेपालमा कागजी नोट र दशैंको धार्मिक तथा सांस्कृतिक सम्बन्ध छैन भन्ने पुष्टि हुन्छ।

नोट संरक्षणका लागि कमजोर जनचेतना
नोट फोहोर नहोस् भनेर नोटको सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले ‘सफा नोट नीति’समेत ल्याएको छ। तर, नीतिबारे जनतालाई थाहै छैन।

दशैं, तिहार जस्ता चाडपर्वमा होस् वा अन्य कुनै कार्यमा नोटमा पानी चढाउने, पानीमा डुबाउने, अक्षता तथा रङ्ग लगाउन नहुने राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेल बताउँछन्।

‘कतिपयले त नोटमा नै लेखेको भेटिन्छ,’ उनले भने, ‘नोटमा लेख्नु तथा केर्नु कानूनी रूपमा दण्डनीय हो।’

नोट सुरक्षासम्बन्धी जनचेतनात्मक सन्देश सञ्चारमाध्यमबाट दिइरहे पनि नोटको जतन भइरहेको छैन। जनतामा जनचेतना पुर्याउन आफूहरू चुकेको डा. पोख्रेलले स्वीकारे।

‘नोट संरक्षणका लागि जनचेतना जगाउने काम कमजोर छ’, उनले स्वीकारे।

नेपालमा नोट छापिँदैन। यसका लागि ग्लोबल टेण्डर गर्नुपर्छ र विदेशबाट छापेर ल्याउनुपर्छ। त्यसका लागि वार्षिक अर्बौं रकम खर्च हुन्छ। सामान्यतया तीनदेखि पाँच वर्षको प्रक्षेपण गरेर नोट छापिन्छ।

नोट छाप्नका लगि सँधै एउटै दर पर्छ भन्ने एकीन हुँदैन। नोट छाप्दा पर्ने लागत समय-समयमा बदलिरहन्छ।

नोटमा राखिने सुरक्षाका विशेषताहरू (सेक्युरिटी फिचर), मूल्यवृद्धि र नोटको दर लगायतका आधारमा नोट छाप्दा लाग्ने खर्चको निर्धारण हुने सहप्रवक्ता डा. पोख्रेलले बताए।

२८ असोज, २०८०, १३:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।