विश्वकप क्रिकेट : बंगलादेशलाई आठ विकेटले हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा

विश्वकप क्रिकेट : बंगलादेशलाई आठ विकेटले हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। योसँगै खेल न्यूजिल्याण्डले ८ विकेटको जित्यो।

उसका लागि डार्यल मिचेलले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए। उनले १०३ बलमा ६ चौका र ४ छ्क्का प्रहार गरे।

कप्तान केन विलियम्सनले १०७ बलमा ८ चौका र एक छक्कासहित ७८ रन रिटार्यड लिए।

यस्तै देवोन कोनवे ४५ र रचिन रविन्द्र ९ रनमा आउट हुँदा ग्लेन फिलिप्स १६ रनमा नटआउट रहे।

बंगलादेशका सकीब अल हसन र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए।

त्यसअघि चेन्नईको एमए चिदम्बरमा रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनायो।

उसका लागि मुस्ताफिजुर रहीमले सर्वाधिक ६६ रन बनाए।

त्यसबाहेक सकिब अल हसन ४०, म्हेदी हसन मिराज ३०, टक्सिन अहमद १७, तेन्जिद हसन १६, टौहिद हृदोय १३ रन बनाउँदा महमुदुल्लाहले अविजित रहँदै ४१ रन जोडे।

बंगलादेशका ओपनर लिट्टनकुमार दास खेलको पहिलो बलमै क्याचआउट भए। नजमुल होसेन सान्तो ७ र मुस्ताफिजुर रहमान ४ रनमा आउट भए। शोरिफूल इस्लामले पनि नटआउट रहँदै २ रन जोडे।

न्यूजिल्याण्डका लोकी फर्गुसनले तीन, ट्रेन बोल्ट र म्याट हेन्रीले समान दुई-दुई तथा मिचेल स्यान्टर र ग्लेन फिलिप्सले समान एक-एक विकेट हात पारे।

जितसँगै तीन खेलमा ६ अंकसहित न्यूजिल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा छ। तीनमध्ये दुईमा हार व्यहोरेको बंगलादेश दुई अंकसहित छैटौं स्थानमा छ।

असोज २६, २०८० शुक्रबार २२:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।