इजरायलले २४ घण्टे अल्टिमेटम दिएपछि यसरी घर छाडेर निस्कँदैछन् गाजाबासी (तस्बिरहरू)

इजरायलले २४ घण्टे अल्टिमेटम दिएपछि यसरी घर छाडेर निस्कँदैछन् गाजाबासी (तस्बिरहरू)

एजेन्सी : इजरायलले गाजाका नागरिकलाई दक्षिणतर्फ सर्न चेतावनी दिएपछि त्यहाँका थुप्रै मानिसहरू अहिले त्यसतर्फ गइरहेका छन्।

इजरायली रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले उत्तरी गाजाबाट दक्षिणमा सर्नका लागि स्थानीयका लागि २४ घण्टाको समय दिएका थिए।

ड्यानियलको चेतावनीपछि त्यहाँका मानिसहरू आफ्नो सबै सामान प्याक गरी गाजा शहरबाट घर छाडेर हिँडेका छन्।

सुरक्षित आश्रयमा जानेमा अधिकांश बालबालिका छन्। गाजाको आधा जनसंख्या १८ वर्षभन्दा कम उमेरका छन्।

उत्तरी गाजामा ११ लाख मानिस बसोबास गर्छन्। उनीहरूले २४ घण्टाभित्र त्यस स्थान छाड्न हरेक घण्टा ४० हजार मानिसले शहर छाड्नुपर्ने हुन्छ।

इजरायलको आदेशमा छाड्न भनिएका मानिसहरूमा संयुक्त राष्ट्रले आश्रय गृहको रूपमा प्रयोग गरिरहेको विद्यालयमा बस्ने मानिसहरू पनि समावेश छन्।

संयुक्त राष्ट्र संघले सञ्चालन गरेका स्वास्थ्य केन्द्रका मानिसहरूलाई पनि त्यस क्षेत्र खाली गर्न भनिएको छ। संयुक्त राष्ट्रसंघले इजरायललाई यो आदेश फिर्ता लिन आग्रह गरेको छ।

अस्पतालमा भर्ना भएका वा इजरायली बमबारीमा घाइते भएका र उपचार गराइरहेकाहरूका लागि यहाँबाट स्थानान्तरण गर्नु निकै गाह्रो काम हुने देखिएको छ।

असोज २६, २०८० शुक्रबार १८:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।