बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

एजेन्सी : शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ।

‘आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ,’ दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।’

गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीहरूले इजराइलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ।

इजराइलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमणसँगै तोप वर्षाएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ।

हमासले इजराइली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकहरूसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजराइली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ।

‘विभिन्न देशमा विरोधका घटनाहरू हिंसात्मक बन्न सक्छन् भन्ने अनुमान गर्नु उचित छ’, विज्ञप्तिमा भनिएको छ।

शुक्रबार अपराह्न उत्तरपूर्वी बेइजिङको एक कूटनीतिक छिमेकमा रहेको इजराइली दूतावास सामान्यरूपमा सञ्चालन भएको देखिएको एएफपीका एक पत्रकारले बताए।

सुरक्षाकर्मीहरूले उक्त क्षेत्र नखिच्न एएफपीलाई आग्रह गरेका थिए। बाहिरबाट त्यहाँ कुने निगरानी भइरहेको देखिएको थिएन। उक्त घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

असोज २६, २०८० शुक्रबार १७:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।