सात महिनादेखि बेपत्ता ३ बालक अझै भेटिएनन्, बर्सेनि कहाँ जान्छन् कर्णालीका सयौं बालबालिका?
सुर्खेत : गत फागुन २ गतेदेखि कर्णाली प्रदेशका तीन बालक सम्पर्कविहीन छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का १३ वर्षीय भुपेश सुनार, मुगुको छायाँनाथ रारा नगरपालिका-३ का १३ बर्षीय सन्देश कार्की र दैलेखका १४ वर्षीय भुपेन्द्र चन्द ठकुरी फागुन २ गतेदेखि समपर्कविहीन भएका हुन्।
उनीहरू तीनै जना वीरेन्द्रनगर-११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत थिए। कक्षाका साथीहरूसँग ‘खेल्न जान्छौं’ भनेर विद्यालय पोसाकमै निस्किएका उनीहरूको अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन।
पढ्न गएको नाति घर नफर्किएपछि भुपेशका हजुरबुबा यामबहादुर सुनार चिन्तित छन्।
‘२ गते स्कुल पढ्न गएको नाति घर फर्किएन। दुई छोराको एक्लो नाति हराउँदा चिन्तामाथि चिन्ता थपिएको छ,’ यामबहादुरले भने, ‘फागुन ७ गते प्रहरीमा खोजीका लागि निवेदन दियौं। अहिलेसम्म कुनै खबर मिलेको छैन।’
यामबहादुरका दुई छोरामध्येका कान्छो छोरातर्फको नाति हुन् भुपेश। जेठो छोराबाट सन्तान भएका छैनन्। भुपेशकी आमाले सानै उमेरमा छोडेर अर्को विवाह गरिन्। भुपेशका बुबा भने भारतमा मजदुरी गर्दै आएका छन्।
आफ्नो एक्लो नाति हराउँदा सात महिनादेखि भोक र निन्द्रा लाग्नै छोडेको भुपेशकी हजुरआमा अमृता सुनारले सुनाइन्।
‘पिठ्युँको ओछयान र छातीको सिरानी बनाएर पालेको मेरो एक्लो नाति एकाएक सम्पर्कविहीन भयो। कसले खोजेर ल्याइदेला उसलाई,’ भक्कानिँदै अमृताले भनिन्, ‘मेरो नाति त्यस्तो बिलाइनमा थिएन। खै कसले कहाँ लग्यो। कतिबेला घर आउँछ। बज्यै भोक लाग्यो भनेर बोलाउँछ भन्ने लाग्छ।’
त्यस्तै मुगुका सन्देश कार्की वीरेन्द्रनगर सुर्खेतमा मामा सुनील रावलसँग डेरामा बसेर विद्यालय जान्थे। आफ्ना भान्जाको अहिलेसम्म स्थिति बुझ्न नपाउँदा मनमा अनेकन कुरा खेल्ने गरेको सुनीलले बताए।
‘फागुनबाट अहिलेसम्म भान्जा लगायत अन्य दुई जनाको पनि केही खबर आएको छैन। प्रहरीले पनि यो घटनाको वास्तविकता सार्वजनिक गर्न सकेको छैन,’ सुनीलले भने, ‘हामीले कहाँबाट कसरी खोज्ने? विभिन्न ठाउँमा खोजी त गरिरहेका छौं। तर, हामीबाट त्यो सम्भव भएन।’
सन्देशका बुबा गणेश कार्की रोजगारीको लागि तीन वर्षदेखि साउदीमा छन्। उनीहरू हराएको पाँच दिनपछि फागुन ६ गते सन्देशका अंकल नाता पर्ने हिक्मत रोकायको फेसबुकमा राहुल तामाङ नामक अपरिचित फेसबुक आईडीबाट म्यासेन्जरमा ‘हेल्लो अंकल, म सन्देश हो के’ भनेर म्यासेज आएको थियो।
त्यसपछि हिक्मतले केही मिनेट भिडियो कुरा गर्ने प्रयास गरे। ‘कहाँ छौ?’ भनेर सोधे। तीन मिनेट भिडियो कल गरेका उनले न आफ्नो अनुहार देखाए न त आवज नै। हिक्मतले आफ्नो मोबाइल नम्बर म्यासेजमा छोड्दै सम्पर्क गर्न अनुरोध गरे। तर, उताबाट कुनै जवाफ आएन।
त्यसपछि सन्देशका आफन्तले उक्त फेसबुक आईडीबाट मोबाइल नम्बर माग्छन्। उताबाट ९८२८२१२८९४ नम्बर आयो। त्यही नम्बरमा फोन गरेर कुरा गर्दा ‘सन्देशको बुवाले उसलाई लिइसक्यो, यहाँ छैन’ भनेर जवाफ आउँछ।
त्यसपछिका दिनमा उक्त मोबाइल नम्बरमा अहिलेसम्म सम्पर्क हुन नसकेको आफन्तले गुनासो गरेका छन्। यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले हराएका तीनै जना बालकको खोजीका लागि प्रहरीका सबै युनिटमा पठाइसकेको र अनुसन्धान भइरहेको बताएको छ।
‘बालकहरू हराएको खबर आएपछि प्रहरीले सबै जिल्लामा समन्वय गर्यो। उनीहरूसँगको मोबाइल नम्बर र सूचना छिटो आए सहज हुन्थ्यो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण बहादुर शाहीले भने, ‘आफन्तसँग कुरा गरेको फेसबुक आईडी साइबर ब्यूरो काठमाडौं पठाएका छौं। रिप्लाई आएको छैन।’
यो घटनामा प्रहरीले निरन्तर फ्लोअप गरिरहे पनि त्यस्तो ठोस ‘क्ल्यू’ पाउन नसकेको डीएसपी शाहीको भनाइ छ।
बर्सेनि कहाँ जान्छन् कर्णालीका सयौं बालबालिका?
पछिल्ला केही वर्ष यता कर्णालीबाट बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि असोजसम्म मात्रै ४२ बालक र ५४ बालिका कर्णालीबाट हराएका छन्।
जसमध्ये १३ बालक र ११ बालिका भेटिएका छैनन्। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० जिल्लाबाट ४१४ जना बालबालिका हराएका छन्।
जसअनुसार सुर्खेतका ५६ बालक १२२ बालिका, दैलेखका ११ बालक ३६ बालिका, जाजरकोटका १० बालक १८ बालिका, सल्यानका १५ बालक २२ बालिका, रुकुम पश्चिमका १२ बालक १४ बालिका, कालिकोटका १३ बालक १३ बालिका, हुम्लाका ५ बालक ३ बालिका, मुगुका १४ बालक ६ बालिका, डोल्पाका २ बालक ४ बालिका, जुम्लाका १४ बालक २४ बालिका हराए।
४१४ जना बालबालिका मध्ये १३२ बालक र २४५ बालिका प्रहरीको सहयोगमा भेटिए। २० बालक र १७ बालिका भने अझै फेला परेका छैनन्।
आर्थिक वर्ष २०७८/७९ मा १५६ बालक र २५५ बालिका हराए। १३७ बालक र २४० बालिका भेटिए। तर १९ बालक र १५ बालिका अझै भेटिएका छैनन्। त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १३८ बालक र १७१ बालिका गरी ३०९ जना हराए। १३१ बालक र १५७ बालिका भेटिए पनि ७ बालक र १४ बालिका बेपत्ता रहेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा १२६ बालक र १४५ बालिका हराए। १२४ बालक, १४५ बालिका भेटिए तर ३ बालक र ४ बालिका भेटिएनन्।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा १७३ बालक २०१ बालिका हराए। १७० बालक र १९५ जना बालिका भेटिए। ३ बालक र ६ बालिका अझै बेपत्ता छन्। आर्थिक वर्ष २०७४/७५ मा १८० बालक र १४३ बालिका हराएका थिए। जसमध्ये ५५ बालक र ४९ बालिका गरी १०४ जना फेला परेनन्।
आर्थिक वर्ष २०७३/७४ मा १५८ बालक र १२९ बालिका हराएका थिए। तीमध्ये ५१ बालक र ३६ बालिका अझै फेला परेका छैनन्।
कतिपयलाई प्रहरीले उद्धार गरे पनि अधिकांश बालबालिका भने नभेटिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। बालबालिकाले घर छोडेपछि प्रहरीमा हराएको सूचना आउने र अभिभावक आफैंले भेटे पनि प्रहरीमा सम्पर्क नगर्नाले तथ्याङ्कमा हराएको संख्या बढी देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए।
‘उमेर नै नपुगी आफूखुसी विवाह गरेको, साथीहरूको लहैलहैमा लागेर भारत गएका जस्ता घटना ल्याएर खोजी पाउँ भन्दै प्रहरीमा अभिभावक आउनुहुन्छ। पछि भेटियो या घर आएपछि त्यो खबर आउँदैन,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसबाहेक मेलापात, बाटोमा हराएका र बेचविखनमा परेका बालबालिकालाई प्रहरीले खोजी गरि उद्धार गरेको छ।’
प्रवक्ता भट्टराईले पहिला खोज्न आउने र पछि भेटिए जानकारी नदिने प्रचलनले तथ्याङ्कमा वृद्धि भएको भन्दै बालबालिकाको सुरक्षामा प्रहरी चनाखो भएर काम गरिरहेको बताए।
कर्णालीका बालबालिकालाई घरेलु हिंसा, लैङ्गिक हिंसा, प्राकृतिक विपत्ति र भौगोलिक विकटताबाट जोखिम रहेको उनको भनाइ छ।
कुल जनसंख्याको ४० प्रतिशत बालबालिका
कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार र ४१२ मध्ये ४० प्रतिशत बालबालिका छन्। २०७८ सालको जनगणना अनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन्। जसअनुसार तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन्।
आर्थिक र सामाजिक रुपले कमजोर कर्णालीमा बालबालिका जोखिममा रहेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था आवाजकी कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन्। उनले प्रदेशका साढे ६ लाख बालबालिका मध्ये आधा बालबालिकालाई विभिन्न कारणले संरक्षणको आवश्यकता रहेको उल्लेख गरिन्।
‘विभिन्न कारणले यहाँका बालबालिका बढी जोखिममा छन्। आर्थिक समस्याका कारण पढाइ छोडेर भारत लगायतका ठाउँमा काम गर्न बाध्य छन्। त्यसलाई रोक्न सरकारले पनि चासो देखाएर काम गर्नुपर्यो,’ शाहीले भनिन्, ‘यहाँ बालबालिकालाई पढाइ र रोजगारीका लागि बाहिर सहजै लिन सक्ने स्थिति छ। त्यसमा थप कडाइ गरेर काम गर्न जरुरी छ।’
उनले बालबालिकाको अवस्थाबारे स्थानीय तहमा उनीहरूको तथ्याङ्क राख्नुपर्ने भन्दै शिक्षा, रोजगारी दिने नाममा बालबालिकालाई अभिभावकले बाहिर नपठाउन सचेतनाको आवश्यक रहेको बताइन्।
शाहीका अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको सिकार भएका छन्। त्यस्तै एक लाख ३७ हजार बढी बालबालिका बालश्रम गर्न बाध्य छन्। उनीहरू पारिवारिक र भौगोलिक अवस्था र अभिभावकको चेतनाको कमी जस्ता कारणले श्रममा लाग्न बाध्य भएको शाहीको भनाइ छ।
असोज २६, २०८० शुक्रबार ११:५८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।