२५४ जना नेपाली नागरिक हवाई उद्धारमार्फत इजरायलबाट स्वदेश आइपुगे

२५४ जना नेपाली नागरिक हवाई उद्धारमार्फत इजरायलबाट स्वदेश आइपुगे

काठमाडौं : इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज (शुक्रबार) बिहान नेपाल ल्याइएको छ। उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो।

नेपालीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए।

उद्धारपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि बताए।

यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको,  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको उनले बताए।

उद्धार गरी नेपाल ल्याइएका नागरिकहरूलाई विभिन्न गन्तव्यमा पुर्याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो।

हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी गराए।

हाल तेलअभिवबाट नियमित रुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरूलाई आवश्यकता अनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने साउदको भनाइ छ।

असोज २६, २०८० शुक्रबार ०७:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।