ठगीमा फरार प्रसाद-२ फिल्मका 'मोस्ट वान्टेड' को पक्षमा निर्देशक समाज, कोही भागेर अष्ट्रेलियामा, कोही नेपालमै

ठगीमा फरार प्रसाद-२ फिल्मका 'मोस्ट वान्टेड' को पक्षमा निर्देशक समाज, कोही भागेर अष्ट्रेलियामा, कोही नेपालमै

काठमाडौँ : निर्माताको अनुमति नै नलिई फिल्म ‘प्रसाद २’ को डिजिटल कपी असम्बन्धित व्यक्ति र संस्थालाई दिएर ठगी गरेको उजुरीबारे प्रहरी वृत्त गौशाला अनुसन्धानमै छ। उता निर्देशक समाजले भने प्रहरी अनुसन्धानको दायरामा रहेका ओम अग्रवाल र मिलन श्रेष्ठलाई निर्दोष ठहर गरिसक्यो।

समाजका महासचिव अरुण कुमार प्रधानले बिहीबार जारी गरेको विज्ञप्ति ‘हामीले बुझेसम्म ओएसआरका डिजिटलका अग्रवाल र सम्पादक श्रेष्ठ निर्दोष देखिएको दाबी गरेका छन्। अग्रवाल अहिले हाजिर जमानीमा छुटेका छन् भने श्रेष्ठ फरार छन्।

अग्रवालमाथि निर्मातासँग अनुमति नै नलिई फिल्मको गीतहरू युट्युब च्यानलमा राखेको आरोप लागेको छ। उता श्रेष्ठमाथि फिल्मका निर्देशक सुदर्शन थापासँगको मिलेमतोमा फिल्मको डिजिटल कपि विभिन्न देशमा पठाएर प्रदर्शन गराएको आरोप छ।

विज्ञप्तिमा सो फिल्मका अर्का दुई निर्मातामध्येका एक सुवास थापासँग गरेको सम्झौता अनुसार काम गरेको दाबी गरिएको छ। निर्मातामध्येका एक सुवास ढकालले प्रहरीमा उजुरी दिएका थिए।

यो घटनाका तेस्रो आरोपी सुदर्शन थापा पनि फरार छन्। निर्देशक समाजले प्रहरी कार्यालयमा उपस्थित नभएर भागिरहेका निर्देशक सुदर्शनको नाममा पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएको छ। सो विवादमा अदालतको अनुमतिमा मात्र पक्राउ पुर्जी जारी भएको हो।

विज्ञप्तिमा बिना कारण निर्देशक थापालाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाइएको छ।

सुदर्शन बस्नेतले आफूहरूको अनुमति बिना नै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि अदालतबाट पक्राउ आदेश लिएर प्रहरी फरार रहेका दुवै जनाको खोजीमा छ।

सङ्घले पारिश्रमिक लिएर ‘प्रसाद २’मा काम गरेको निर्देशकलाई फिल्म बिक्री वितरण गर्ने कुनै पनि अधिकार नहुने भएकाले बिना कारण थापाविरुद्ध पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक रहेको उल्लेख छ।

निर्देशकले फिल्म बनाई निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने दाबी गर्दै निर्देशकलाई फिल्म बिक्री वितरण गर्ने अधिकार नहुने दाबी गरिएको छ।

‘यस्तो अवस्थामा प्रहरीले बिना कारण, बिना प्रमाण, एकतर्फी रूपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीकै भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक’ रहेको उल्लेख छ।

निर्देशक समाजका पदाधिकारीलाई उजुरीको आधारमा पक्राउ पुर्जी प्रहरीले नभई सम्बन्धित जिल्ला अदालतबाट जारी हुने कानुनी ज्ञान समेत नभएको देखियो। सुदर्शन थापाविरुद्ध प्रहरीले नभई जिल्ला अदालत काठमाडौँबाट पुर्जी जारी भएको हो।

फिल्म क्षेत्रमा परेका समस्या समाधान गर्न फिल्म सम्बद्ध सङ्घ–संस्थाहरू आफैँ सक्षम रहेको समेत दाबी गरिएको छ।

अर्को निर्माता बैङ्किङ कसुरमा फरार

सुदर्शन र श्रेष्ठपछि प्रहरीले प्रसाद-२ को अर्को निर्माता सुवास थापालाई खोजिरहेको छ। प्रसाद-२ का निर्मातामध्येका एक सुवास थापाले निर्माता बनाउँछु भन्दै केशव पाण्डेको ६२ लाख ५० हजार ठगी गरेपछि सुदर्शन बस्नेत निर्माता भएर फिल्ममा प्रवेश गरेका थिए।

पछि पाण्डेले बैङ्किङ कसुरमा उजुरी दिए। फिल्म रिलिज नभएसम्म थापा नेपालमै लुकेर बसे। फिल्म रिलिज भयो तर व्यापार भएन। अनि उनी भागेर अस्ट्रेलिया पुगे। उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच महिना अगाडि नै पक्राउ पुर्जी जारी भएको थियो।

सुवास थापाले पाण्डेलाई निर्माता बनाउँछु भन्दै ठगी गरेको घटनाबारे निर्देशक सुदर्शन थापा जानकार थिए।

पाण्डेले कि फिल्म निर्माणको अधिकार आफूलाई दिन या आफ्नो ६२ लाख ५० हजार फिर्ता गर्न निर्माता सुवास थापासँग छलफल गर्दा अधिकांश छलफलमा सुदर्शन समेत सहभागी थिए।

पाण्डेलाई जानकारी नै नदिई सुवासले नयाँ निर्माता ल्याएर फिल्मको छायाङ्कन सुरु गर्दा सुदर्शनले समेत साथ दिएका थिए। अहिले उनी नै अर्का निर्माताबाट ठगीको आरोपी बनेका छन्।

फिल्म प्रसाद २ को घोषणा कार्यक्रम जहाँ पाण्डे प्रड्युसरको रुपमा उपस्थित थिए।  फिल्म प्रसाद-२ मा ठगीको आरोपी बनेर भागिरहेका सुदर्शन आफैँ निर्माता बन्ने तयारीमा रहेको रावायण फिल्ममा अनमोल केसीले अभिनय गर्न अस्वीकार गरेपछि एक करोड बढी रकम डुबेको भन्दै प्रहरी कार्यालय पुगेका थिए। यो घटनामा पक्राउ परेका अनमोल हाजिर जमानीमा रिहा भए भने आरोपबारे अनुसन्धान जारी छ।

'ठगीको पक्ष'मा निर्माता सङ्घदेखि विकास बोर्डसम्म

प्रसाद फिल्मको सिक्वेलको रूपमा प्रसाद-२ निर्माण गर्ने घोषणा गरेका सुवास थापाले मेडिकल व्यवसायमा संलग्न पाण्डेलाई निर्माताको रूपमा फिल्ममा भित्र्याए। फिल्म घोषणा गरे। अनि छायाङ्कन गर्न ल्वाङ गाउँ पुगे। फिल्म निर्माणका लागि भनेर पाण्डेसँग लिएको पैसा अन्त खर्चिए।

फिल्म छायाङ्कन गर्न जाँदा उनको बदमासी खुल्यो। कलाकारसहितको टिम काठमाडौँ फर्कियो। फिल्म निर्माण हुने नहुने अन्योल बढ्यो थापाले आफ्नो नामको कम्पनीबाट कारोबार गरेको तर फिल्मको सबै काम अर्को कम्पनीबाट गरेको खुलेपछि पाण्डेले कि फिल्मको सबै अधिकार दिन वा पैसा फिर्ता गर्न भनेको जानकारस्रोतले उकेरालाई बतायो।

सुवास केही प्रतिशत सेयर लिएर फिल्मको सबै अधिकार पाण्डेलाई दिन राजी भएका थिए। तर पछि उनले मानेनन्। एक्लै फिल्म निर्माणको काम अगाडि बढाएपछि उनले निर्देशक सङ्घदेखि चलचित्र विकास बोर्डसम्म उजुरी दिए।

उता सुवासको नियत खराब देखेपछि फिल्ममा अनुबन्ध भइसकेका कलाकारले अभिनय गर्न मानेनन्। नम्रता श्रेष्ठले अभिनय नगर्ने निर्णय गरिन्। उनको ठाउँमा केकीलाई अनुबन्ध गरे। अभिनेता विपिनले फिल्ममा अभिनय गर्न अस्विकार गरेपछि कलाकार संघ, निर्माता संघ लगायतका संगठन प्रयोग गरेर अभिनय गर्न बाध्य बनाए।

फिल्म प्रसाद-२ रोक्न बोर्डका अध्यक्ष भुवन केसीले चासो देखाएनन्। बोर्डमा पटक-पटक छलफल भयो। निर्माता सङ्घले समेत वास्ता गरेनन्। थापाले दिएको चेक साटिएन। अनि पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुर अन्तर्गत जाहेरी दिएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ आदेश जारी भयो।

यता चलचित्र विकास बोर्डले फिल्मको सेन्सर अनुमति दियो। झुक्क्याएर पैसा लिएर ब्यालेन्स नभएको चेक दिएको भन्दै सोको टुङ्गो नलागेसम्म फिल्मको प्रदर्शन रोक्न पाण्डे अदालत गए। अदालतबाट सेन्सर रोक्न आदेश आयो। दोस्रो सुनुवाइमा फिल्म रिलिजको अनुमति आयो।

सुवास भूमिगत भएरै फिल्म रिलिज गरे। सार्वजनिक कार्यक्रममा कतै नदेखिएका उनी सामाजिक सञ्जालमा भने सक्रिय थिए। फिल्मले सोचे अनुसारको व्यापार गरेन। अनि उनी अस्ट्रेलिया पुगे। अहिले उनी अस्ट्रेलियामा छन्।

यता अर्का निर्माता सुदर्शन बस्नेतको पनि लगानी उठेन। पहिल्यै सुवासले डिजिटल राइट्सदेखि विदेशमा प्रदर्शन गर्ने अधिकारबारे सहमति गरिसकेका थिए। त्योबारे थापा जानकार थिएनन्। उनले जानकारी नै नपाई फिल्म विभिन्न देशमा रिलिज भयो। डिजिटल प्लेटफर्मबाट भएको आम्दानी समेत उनले पाएनन्। अनि उनी उजुरी बोकेर प्रहरीकोमा गए।  उनले ओएसआरदेखि फिल्म निर्देशकसम्मलाई प्रतिवादी बनाउँदा सुवास थापाबारे भने केही उल्लेख गरेनन् उजुरीमा।

असोज २५, २०८० बिहीबार २३:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।