बराबरीमा सकियो नेपाल र लाओसको खेल, प्रशिक्षकलाई देखाइयो रेड कार्ड
काठमाडौं : सन् २०२६ को फिफा विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा सकिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका हुन्। योसँगै दुवै देशले एक-एक अङ्क बाँढेका छन्।
खेलमा लाओसले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। यता नेपालले बराबरी बनाएपछि पनि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा खेललाई आफ्नो पक्षमा पार्न सकेन।
खेलको ३३औं मिनेटमा कप्तान बोलोपछान बोनकोङले गोल गर्दै लाओसलाई अग्रता दिलाए। उनले दुई डिफेन्डर अनन्त तामाङ र रोहित चन्दलाई छक्याउँदै फर्स्टबारमा प्रहार गर्दै गोल गरे।
पहिलो हाफ १-० ले पछि रहेको नेपालले दोस्रो हाफको केही मिनेटमै खेललाई बराबरीमा फर्कायो। खेलको ४७औं मिनेटमा अञ्जन विष्टले गोलमा नेपाल बराबरीमा पुग्यो।
एरिक विष्टले फ्रिकिक प्रहार गरेको बल अञ्जनले हेडमार्फत गोल गरे। योसँगै उनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने हरि खड्का र निराजन रायमाझीसँग कीर्तिमान बराबरी गरेका छन्।
खड्का र रायमाझीले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका थिए। उनीहरू दुवैले अन्तर्राष्ट्रिय खेलकुदबाट सन्यास लिइसकेका छन्।
खेलको इन्जुरी समयमा लाओसका प्रशिक्षक कान्लाया साइसोम्भाङले रेड कार्ड पाए। खेल भइरहेको समयमा टच लाइन क्रस गर्दै मैदानमै रेफ्रीसँग बाझेपछि उनलाई रेड कार्ड देखाइएको हो।
विश्वकप फुटबलको एसिया छनोटको पहिलो राउन्डमा दुई खेल हुनेछ। आज भएको खेल पहिलो हो भने दोस्रो खेल १७ अक्टोबरमा लाओसको न्यू लाओस फुटबल स्टेडियममा हुनेछ।
असोज २५, २०८० बिहीबार १९:४६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।