विश्वकप क्रिकेट : डीककको शतकमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य

विश्वकप क्रिकेट : डीककको शतकमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बिहीबारको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३१२ रनको लक्ष्य दिएको छ।

लखनउको भारतरत्न श्री अटल बिहानरी बाजपेयी एकना क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३११ रन बनायो।

उसका लागि क्विन्टन डीककले १०६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक १०९ रनको शतकीय पारी खेले। एडेन मक्रमले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५६ रनको अर्धशतकीय पारी खेले।

त्यसअलावा कप्तान तेम्बा बाभुमा ३५, हेन्रिच क्लासेन २९, मार्को जसेन र रासी भन्देर डुसीनले समान २६–२७ तथा डेभिड मिलर १७ रनमा आउट भए। कागिसो रबाडा र केशव महाराज अविजित रहे पनि रन बनाउन सकेनन्।

अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान दुई–दुई विकेट लिँदा जोस हज्लेवुड, प्याट कमिन्स र एडम जाम्पाले समान एक–एक विकेट लिए।

अस्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलियाको यो दोस्रो खेल हो। दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गर्दा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको हो।

असोज २५, २०८० बिहीबार १८:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।