साथीलाई पेट्रोल छर्की आगो लगाएर भागेको अभियोगमा एक जना पक्राउ, तीन घाइते
काठमाडौं : आफूसँगै काम गर्ने साथीलाई पेट्रोल छर्की आगो लगाएर भागेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक रहेका छन्।
उनले असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकोमा बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
प्रहरीका अनुसार एकै ठाउँमा घर भई सोही ठाउँमा काम गर्ने वर्ष २४ का अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी भागेका थिए।
आगो सल्किएपछि त्यहाँ रहेका अन्य दुईसमेत गरी तीन जना घाइते भएकोमा उनीहरूको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ परेका विकलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।
असोज २५, २०८० बिहीबार १८:२५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।