कलाकार मदनदास श्रेष्ठको हिजोका कुरा : बुवाले अधिकृतै भएस् भन्नुहुन्थ्यो, त्यो पनि भन्सार वा मालपोतमा

कलाकार मदनदास श्रेष्ठको हिजोका कुरा : बुवाले अधिकृतै भएस् भन्नुहुन्थ्यो, त्यो पनि भन्सार वा मालपोतमा

नाटक, रेडियो नाटक हुँदै चलचित्रमा अभिनय गरेका कलाकार हुन् मदनदास श्रेष्ठ। तत्कालीन पूर्वी २ नम्बर दोलखा हालको चरिकोटमा वि.सं. २००५ सालमा जन्मिएका उनको बाल्यकाल चरिकोटमै बित्यो।

बुवा टक्सार विभागमा काम गर्ने भएकाले एसएलसीपछि पढ्न भनेर काठमाडौं आए मदनदास। पढ्न भनेर आए पनि  ध्यान भने नाचगान र अभिनयमै थियो। तर, बुवालाई भने फिटिक्कै मन नपर्ने। बुवाको गाली खाने नै भए। यद्यपि उनले यसलाई निरन्तरता दिइनै रहे। त्यहि क्रममा २७ सालमा विगठित राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे भए उनी।

त्यहाँ अढाइ वर्ष काम गरेपछि रेडियो नेपालमा करारमा काम गर्न थाले। त्यहाँ उनले नाटक उत्पादन गर्नुपर्थ्यो भने अन्य पनि थुप्रै कार्यक्रम सञ्चालन गरे। त्यहि क्रममा ३५ सालमा स्थायी भएका उनको पछिसम्म रेडियो नाटक ‘जेटिए र बुढी’ले चर्चा पायो।

बाटोमा कतै उनी बोले भने स्रोताहरूले स्वरले नै चिन्थे उनलाई अनि जेटीए भनेर बोलाउँथे। रेडियो नाटक मात्र होइन, फिल्म पनि गरेका छन् उनले। फिल्म ‘के घर के डेरा’ उनको अभिनय छ। हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण गर्ने टेलिश्रंखला ‘आमा’, ‘हरिबहादुर मदनबहादुर’ लगायतमा समेत अभिनय गरेका ७५ वर्षीय मदनदास श्रेष्ठले हिजोका कुरा उकेरासँग स्मरण गरेका छन्।

शिक्षकलाई चामल, तरकारी र घ्यू
‘मेरो बाल्यकाल त्यो बेलाको पूर्व २ नम्बर दोलखा बजारमा बितेको थियो। दोलखा बजारकै उकाली ओराली घाँस दाउरा गरेरै समय बिताइयो’, उनले ६० वर्षअघिको कुरा सम्झँदै भने।

विद्यालयमा काठको पाटीमा खरीले लेखेर लेखपढ गरेका हुन् मदनसदासले। शिक्षकलाई गुरु भन्ने समय थियो त्यो अनि शुल्कको साटो धान, चामल, तरकारी र घ्यू दिने।

उनले भने, ‘स्कुलका विद्यार्थीले शिक्षकलाई सर-मिस भन्दैनथे, गुरु भन्ने गरिन्थ्यो अनि पढाएबापत स्कुलको शुल्कको सट्टा धान, चामल, तरकारी, घ्यू दिने चलन थियो।’

उनी पढ्ने स्कुल २००४ सालतिर नै बनेको रहेछ। त्यो समयमा भिम पब्लिक हाइ स्कुल नाम थियो अहिले भिम उच्च माध्यमिक विद्यालयका नामले चिनिन्छ। उनले त्यहिँबाट २६ सालमा एसएलसी उत्तीर्ण गरे।

२००५ सालतिर १०/११ वर्षको उमेरमा मात्र बालबालिकाहरू पढ्न जान्थे रे। त्यो भन्दा कलिलो उमेरमा कमैले पढ्ने गरेको उनी बताउँछन्।

‘आठ कक्षा पास गरेपछि नर्मल शिक्षा तालिम भन्ने हुन्थ्यो। त्यो तालिम लिएपछि प्राथमिक तहमा पढाउन पाइन्थ्यो। मैले चाहीँ पढाउनेतर्फ ध्यान दिइनँ’, उनले विगत सम्झिए।

मदनदासका बुवाआमाको सोच छोरो भन्सारको हाकिम भएर टन्न पैसा कमाओस् भन्ने रहेछ। त्यै भएर उनी एसएलसी पास गर्नेबित्तिकै काठमाडौं आए।

चार दाजुभाइमध्येका माइला हुन् मदनदास। त्यतिबेला चरिकोटबाट काठमाडौं आउन सात दिन लाग्ने उनी बताउँछन्।

‘त्यो समयमा काठमाडौं जानेलाई नेपाल जाने भन्थे। नेपालबाट आएको मान्छे हो भनेपछि गाउँभरीका मान्छे भेला भएर गफ सुन्ने गर्थे। बुवाको कारणले गाउँभरीका मान्छे गफ सुन्न घरमा भेला हुन्थे।’

बास बसेको दुई पैसा, गाडी चढेको पाँच पैसा
त्यो समयमा नेपाल जाने भनेपछि एक महिनाअघि नै तयारी हुन्थ्यो। चामल कुट्ने, चिउरा कुट्ने, कोसेलीपात लैजानका लागि भरियाहरू तयार हुन्थेँ। नेपाल जानका लागि ६÷७ जना भरियालाई सामान बोकाएर लगिन्थ्यो।

‘भरियामा पनि कोही चामल बोक्ने, कोही खाने कुरा, कोही ओड्ने ओछ्याउने लगायतका सामान बोक्ने हुन्थे,’ ६० वर्षअघिको सम्झना गर्दै भने, ‘एसएलसीपछि बुवाको साथमा सात जना भरिया लिएर काठमाडौँ आएको थिएँ म।’

दोलखा बजारबाट आउँदा विभिन्न ठाउँमा बास बस्दै दोलालघाट, पाँचखाल, बनेपा हुँदै भक्तपुरबाट लहरी गाडी चढेर काठमाडौं आएको सम्झन्छन् उनी।

‘बाटोमा बास बसेको घरमा एक जनाको २ पैसा लिन्थेँ,’ उनले भने, ‘यो पैसा लिए बापत उनीहरूले ओछ्याउने सुकुल, पकाउनका लागि भाँडाकुँडा, पानी चलाउनका लागि गाग्री लगायतका सामानहरू दिन्थेँ। कोही-कोहीले घरमा भएको मकै, मोही, तरकारी जे छ त्यहि राखिदिन्थेँ।’

भक्तपुरमा लहरी गाडी र बिजुली बत्ती देख्दा अचम्म लागेको उनले सुनाए।

‘भक्तपुर आइसकेपछि लहरी भन्ने गाडी देखेँ, अचम्म लाग्यो। टुकी मात्र देखेको म बिजुली देख्दा अनौठो लाग्यो,’ उनले सम्झिए, ‘सायद त्यो बेला गाडी चढेको ५ पैसा लिन्थ्यो। साइकल टन्नै हुन्थे। गाडी एउटा दुईटा मात्रै।’

पढ्न आएको छोरो नाटकमा भुलेपछि... 
पढ्न भनेर काठमाडौं आएका उनको नाटकमा ध्यान गयो। नाट्यकर्मीसँग भेटघाट हुन थाल्यो अनि त्यतै भुल्न थाले।

उनले भने, ‘त्यो बेलामा कला केन्द्र भन्ने संस्था थियो। यो संस्थाको अध्यक्ष कृष्णप्रसाद रिमाल हुनुहुन्थ्यो। उहाँहरूसँग भेट भएपछि नाटकको रस पस्यो।’

साहित्यकार तथा नाट्यकर्मीसमेत रहेका रिमालसँगको भेटपछि उनी नाटकमा नै रमाउन थाले र २०२८ सालमा राजकीय प्रज्ञा प्रतिष्ठानमा नाटक कलाकारको रूपमा जागिरे भए।

‘त्यो बेला २२५ रूपैयाँ तलब थियो,’ उनले भने, ‘प्रतिष्ठानले संगीत, नाट्य, कला र साहित्यका प्रवर्द्धनको काम गर्थ्यो।’

‘कला र साहित्यको पञ्चायतकाल स्वर्णिम युग’
राजा महेन्द्रदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मको शासनकाल प्रत्यक्ष अनभुव गरेका मदनदासलाई कला र साहित्यको स्वर्णिम विकास पञ्चायत र राजाकै पालामा भएको अनुभव गर्छन्।

‘कला र साहित्यको विकास महेन्द्रकै पालामा नै भएको थियो। राजा महेन्द्र साहित्य र कलाप्रति ज्यादै मोह थियो,’ उनले भने, ‘पञ्चायतकाल कला साहित्यको स्वर्णिम युग नै थियो।’

राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति सुरूवातमा राजा महेन्द्र भएको स्मरण गर्दै त्यो समयमा कलाकारलाई राजाले छुट्टै सम्मान गर्ने र जागिरको रूपमा खरदारदेखि सरदारसम्मको पदमा पदोन्नति गरिदिने उनको अनुभव छ।

कला साहित्यलाई प्रोत्साहित गर्नुपर्छ भनेर नै विघठित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान राजा महेन्द्रले आफ्नै निजी सम्पत्तिबाट निर्माण गरेको उनी बताउँछन्। नाट्य, संगीत, बाद्यवादन, कला र साहित्यलाई सम्बर्धन गर्न पश्चिमबाट गन्धर्वलाई काठमाडौं ल्याएर प्रतिष्ठानबाट प्रशिक्षण दिन लगाइएको उनलाई अझै याद छ।

उनले थाहा पाउँदा महेन्द्रले नेपालका कलाकारहरूलाई विदेश पठाएर नेपाली कला झक्लिने कला प्रदर्शन गर्न लगाउँथे भने केहीलाई फिल्म बनाउनका लागि सिक्नका लागि समेत पठाएका थिए।

उनले सम्झिए, ‘राजा महेन्द्रले साहित्य कला क्षेत्रलाई त्यतिकै महत्व दिनुहुन्थ्यो। नेपालमा फिल्म भित्र्याउनका लागि सक्षम जनशक्ति उत्पादनका लागि र केहीलाई फिल्म पढ्नको लागि भारत लगायत अन्य देशसमेत थुप्रैलाई पठाउनुभएको थियो।’

उनका अनुसार महेन्द्रले बैकुण्ठ मास्के र जावेश शाहलाई क्यामेरा, टीका पहाडीलाई अभिनय पढ्न पठाएका थिए। त्यसैगरि चैतन्य देवीलाई रसियामा पढ्न पठाएको उनलाई अझै याद छ। गायन जोगाउनुपर्छ भनेर दार्जिलिङबाट लैनसिंह बाङ्देल, साहित्यकार सुर विक्रम ज्ञवालीलाई नेपाल भित्र्याएको मदनदास बताउँछन्।

प्रज्ञा प्रतिष्ठान छोडेर रेडियो नेपाल
प्रज्ञाको नाट्य क्षेत्रमा जागिर खाएको साढे २ वर्षपछि मदनदास रेडियो नेपालमा प्रवेश गरेँ। त्यहाँ लामो समय करारमा काम गरेपछि २०३६ सालमा स्थायी भए अनि २०६६ सालमा अवकाश पाए।

‘रेडियो नेपालमा जागिर खानका लागि प्रतिष्पर्धा हुन्थ्यो, जाँच दिनुपर्थ्यो। अर्को कुरा जाँच दिएर मात्र हुँदैनथ्यो,’ उनले भने, ‘त्यहाँ माइक अनुकुल स्वर चाहिन्थ्यो। त्यसरी नै रेडियो प्रसारण, कार्यक्रम उत्पादन र माइक अनुकुल स्वर हुनुपर्छ भन्ने थियो।’

भन्सार र मालपोतमा जागिरे भएस्
बुवाआमाको सोच सन्तानको राम्रो होस् भन्ने नै हुन्छ। मदनदासका बुवाआमाको सोच भने छोराले अधिकृत बनोस् भन्ने थियो, त्यो पनि भन्सारको।

‘कक्षा आठ पढेपछि स्कुल पढाउन पाइन्थ्यो त्यो बेला। मैले त एसएलसी पास गरेको थिए,’ उनले भने, ‘बुबाआमाको सोच छोराले अधिकृत लेवलकै जागिर खाओस् भन्ने थियो, त्यो पनि भन्सारमा।’

उनका अनुसार त्यो समयमा नाट्य क्षेत्रमा लागेको मान्छेलाई कसैले पनि राम्रो मान्दैन थिए। यसमा प्रतिष्ठा, इज्जत पनि थिएन। नाटकबाट कुनै प्रतिष्ठा नभएपछि मदनदासलाई उनका बुवाले जागिर खानमै बढी जोड दिन्थे। तर, उनको मनले नाटक छोड्नै मानेन।

‘बुवाआमाले शिक्षकभन्दा पनि खरदार, सुब्बा, मालपोत, भन्सार जहाँ अलि बढी कमाउने ठाउँ छ, त्यतै जागिर खाओस् हुन्थ्यो भन्ने थियो’, उनले भने।

‘के घर के डेरा’ 
‘म रेडियो नाटकमा राम्रै जमिरहेको थिए। मैले रेडियो नाटक ‘जेटीए’ चलाइरहेको थिएँ। यो नाटक धेरै स्रोताले मन पराएका थिए,’ उनले भने, ‘मेरो रेडियो नाटकको बोलीले धेरैलाई प्रभाव पारेको रहेछ। कहिँ कतै मैले बोलेको सुन्नुभएको स्रोताले तपाईं जेटिए हैन भनेर सोध्नुहुन्थ्यो।’

त्यो समयमा उनको कृषि कार्यक्रम ‘जेटिए र बुढी आमै’ स्रोतामाझ लोकप्रिय थियो। उनी यस नाटकमा जेटिए बाबुको भूमिका निभाउँथे।

उनी रेडियो नाटक उत्पादकको निर्देशकका रूपमा काम गरिरहेको समयमा हरिवंश आचार्य रेडियोको हास्यव्यङ्ग्य कार्यक्रम ‘पञ्चरंगी’मा आउन थालेका थिए। पञ्चायतकाल सकिएपछि यो कार्यक्रमको नाम फेरेर रसरङ्ग बनाइएको उनी बताउँछन्।

उनले भने, ‘यो कार्यक्रममा हरिवंश हास्य कलाकारको रूपमा आउनुहुन्थ्यो। उहाँ अलि-अलि सांस्कृतिक संस्थानमा आवद्ध हुनुहुन्थ्यो। मेरो र मदनकृष्णको भेट भएको केहि वर्षपछि हो उहाँसँग भेट भएको।’

उनले यसैको सिलसिलामा फिल्म खेल्ने अवसर पाएको बताउँछन्।

‘नाटकमा अभिनय त गरिरहेकै थिएँ। फिल्ममा भने मेरो सन् १९८५ मा प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’हो,’ उनले भने, ‘यो फिल्मपछि अन्यमा मेरो फिल्म यात्रा सुरू भएको हो।’

टेलिश्रृंखलामा भने उनले ‘हरिबहादुर मदनबहादुर’, ‘आमा’ लगायतमा अभिनय गरेका छन्। उनका अनुसार पहिलाको तुलनामा अहिले थुप्रै फिल्म र टेलिफिल्म बन्ने गरेका छन्।

‘हाम्रो पालामा वर्षमा थोरै फिल्म बन्थ्यो। ज्यादै न्यून पारिश्रमिकमा काम गर्नुपथ्र्यो। अहिले समय फेरिएको छ। फिल्म पनि थुप्रै बन्छ,’ उनले कलाकारको पारिश्रमिकको कुरा उठाउँदै भने, ‘अहिले एउटै कलाकारको ३० लाख, ५० लाख लिएको सुन्छु। मैले मुस्किलले ५० हजारसम्म पारिश्रमिक पाएको छु।’

असोज २५, २०८० बिहीबार १७:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।