राप्रपाले ‘ग्रीन सिग्नल’ दिएपछि कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सार्ने गठबन्धनको निर्णय

राप्रपाले ‘ग्रीन सिग्नल’ दिएपछि कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सार्ने गठबन्धनको निर्णय
फाईल फोटो

काठमाडौं : कोशी प्रदेश सरकारको नेतृत्व  माओवादी केन्द्रले गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ। 

बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सार्ने निर्णय गरेको हो। 

कोशीमा माओवादीको नेतृत्वमा सरकार बने राप्रपाले समेत सहयोग गर्ने अनौपचारिक सहमति पछि गठबन्धन जोगाउन र मध्यावधि निर्वाचन रोक्न नेपाली कांग्रेस माओवादीलाई नेतृत्व सुम्पिन तयार भएको नेताहरु बताउँछन्।

कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई असहयोग गरेको राप्रपाले सत्ता गठबन्धनतीर भने ‘ग्रीन सिग्नल’ देखाएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि दावी गर्न सात दिनको समय दिएका छन्।  संविधानको धारा १६८ को उपधारा ४ अनुसार हिक्मत कार्कीले सबैभन्दा ठूलो दलको नेताका हैसियतमा अल्पमतको सरकार बनाएका थिए। 

एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने संवैधानीक वाध्यता थियो।
तर, विश्वासको मतका लागि आवश्यक संख्या पु¥याउन नसक्ने भएपछि उनले आफैं राजीनामा दिएका थिए। 

कार्कीको राजीनामापछि अब अन्तिम विकल्पका रूपमा संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन्। 

उनले कोशी प्रदेश सभाका कुनै पनि सदस्यलाई भोलि असोज २६ गते शुक्रबार अपरान्ह ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन्।

असोज २५, २०८० बिहीबार १६:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।