बन्धकहरू​​​​​​​को रिहाइका लागि हमाससँग सम्पर्क भइरहेको छ : रेडक्रस

बन्धकहरू​​​​​​​को रिहाइका लागि हमाससँग सम्पर्क भइरहेको छ : रेडक्रस

एजेन्सी : हमासले गाजामा बन्धक बनाएर राखेकाहरूलाई रिहा गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)ले हमास र इजराइलसँग सम्पर्कमा रहेको जनाएको छ।

गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ।

‘तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौं,’ निकट र मध्यपूर्वका लागि आइसीआरसीका का क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने। 

अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताए। आइसीआरसीले दुवै पक्षलाई नागरिकहरूको पीडा कम गर्न आग्रह गरेको छ। 

शनिबार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ। 

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गरेको बुधबार सरकारी स्रोतले बताएको एएफपीले जनाएको छ।

असोज २५, २०८० बिहीबार १३:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।