७९ रनमै अलआउट भयो इरान, नेपालको २७४ रनको सानदार जित

७९ रनमै अलआउट भयो इरान, नेपालको २७४ रनको सानदार जित

एजेन्सी : बलिङ र ब्याटिङ दुवैमा सानदार प्रदर्शन गर्दै नेपालले यू-१९ प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ।

मलेसियमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो। नेपालको जितमा कप्तान देव खनालले कीर्तिमानी शतक बनाए।

 जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान नेपालको धारिलो बलिङ सामु ३०.५ ओभरमा मात्र ७९ रन बनाएर अल आउट भयो।

ओपनर खोर्सन्दले सर्वाधिक ३७ र इब्राहिमपुरले ११ रन बनाउनु बाहेक इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेश कँडेलले ७ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिए भने सुवास भण्डारीले ८.५ ओभरमा ६ रन दिएर ३ विकेट झारेका थिए।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा अलआउट भए पनि ३५३ रन जोड्यो।

नेपालका लागि देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित ठीक १०० रनको योगदान दिए। देव नेपालका लागि यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी बने।

गत वर्ष भएको आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा देवले कुवेतविरुद्ध पहिलो शतक हानेका थिए।

खेलमा नेपालले खराब सुरुवात गर्दा ओपनर अर्जुन कुमाल डक आउट भएका थिए। त्यसैगरी आकाश त्रिपाठी ३ रनमै आउट हुँदा नेपालले १० रनमै २ विकेट गुमाएको थियो।

यसपछि दीपक बोहरासँग मिलेर देवले तस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए। दीपकले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनको योगदान दिए।

त्यस्तै दीपक प्रसाद डुम्रेले मात्र ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन जोडेका थिए।

असोज २५, २०८० बिहीबार १३:१०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।