इजरायलको ‘तेल अवीव’ विमानस्थलमा एयरलाइन्सको जहाज कुर्दै  नेपाली विद्यार्थी

इजरायलको ‘तेल अवीव’ विमानस्थलमा एयरलाइन्सको जहाज कुर्दै  नेपाली विद्यार्थी
तस्वीर– बिबिसी

काठमाडौं : विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपाली विद्यार्थीहरु आज राती नौ बजे स्वदेश फर्किदै छन्। 

उनीहरु इजरायलको तेल अवीव विमानस्थलमा आज बिहान त्यसतर्फ गएको नेपाल वायुसेवा निगमको जहाजको पखाईमा विमानस्थलमै बसेका छन्। 

आफूहरु तेल अवीव विमानस्थलमा निगमको जहाज र त्रिभुवन विश्वविद्यालयका साथीहरुको पर्खाइमा रहेको इजरायलमा रहेका सुरज भण्डारीले जानकारी दिएका छन्।  

‘हामी भर्खरै तेल अवीव एयरपोर्टमा पुगिसकेको छौं। नेपाल एयरलाइन्सको प्लेन कुर्दै, त्रिभुवन विश्वविद्यालयका साथीहरुको पनि पर्खाइमा’ सुरजले फेसबुकमा लेखेका छन्। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको हो।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्।

हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका छन्। एक जनाको अवस्था अझै अज्ञात छ। 

इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ।

असोज २५, २०८० बिहीबार १२:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।