इजरायलमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा काठमाडौं क्यान्सर सेन्टरद्वारा दीप प्रज्वलन
काठमाडौं : इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।
आफन्त गुमाएका परिवारहरूप्रति दुःख र सहानुभूति जनाउँदै काठमाडौं क्यान्सर सेन्टरले बिहिबार दीप प्रज्वलन गरेको हो।
प्यालेस्टाइन समूह हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।
उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए।
उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीहरु लिन जहाज पठाएको छ। उक्त जहाज आज राति नौ बजे स्वदेश फर्किने बताइएको छ।
असोज २५, २०८० बिहीबार १२:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।