अतिक्रमित नेपाली भूमी कालापानी क्षेत्र भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी, नेपालीलाई रोक

अतिक्रमित नेपाली भूमी कालापानी क्षेत्र भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी, नेपालीलाई रोक

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्। 

बिहिबार बिहान प्रधानमन्त्री मोदी हेलिकोप्टरबाट अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन्। मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन।  अहिले कैलाश पर्वतको दुरदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

कैलाश दर्शनपछि उनले नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानियसँग छलफल गर्ने बताइएको छ। त्यस्तै, मोदीले कालापानी क्षेत्रमा तैनाथ मोदीले भारतीय सेना, इन्डो-तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्।

प्रधानमन्धी मोदीको भ्रमण हुने ठाँउहरुमा नेपाली नागरीकलाई भने प्रवेशमा रोक लगाएको जनाइएको छ। 

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन्। मोदीको भ्रमणबारे नेपाली प्रसाशन भने बेखबर रहेको छ।  भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नपाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्दै नेपालका अतिक्रमित क्षेत्र दार्चुलाका लिपुलेक, कालापानीसहितको क्षेत्र नक्सामा समेटेको थियो।  

उक्त नक्सालाई राजनीतिक तथा प्रशासनिक भनिएको थियो। तर, भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ।

नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ।

असोज २५, २०८० बिहीबार ११:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।