बुढानीलकण्ठ स्कुलको किर्ते भर्ना काण्डमा प्रधानाध्यापकलाई उन्मुक्ति, शिक्षा सचिव मौन!

काठमाडौं : बुढानीलकण्ठ विद्यालयमा विद्यार्थी भर्ना गर्दा प्रधानाध्यापक होमनाथ आचार्यले किर्ते गरेको प्रमाणित हुँदा पनि उनीमाथि कारबाही भएको छैन।
आचार्यले भर्ना परीक्षामा नाम निस्किएका दुई जना विद्यार्थीको सट्टा अर्कै विद्यार्थीलाई भर्ना गरेको आन्तरिक अनुसन्धानमा पुष्टि भइसकेको छ। विद्यार्थीको परिचय नै बदलेर किर्ते गरिएको घटनामा प्रधानाध्यापककै संलग्नताको पुष्टि हुँदा पनि शिक्षा मन्त्रालय मौन देखिएको छ।
स्कुलको विधान अनुसार संचालक समितिको अध्यक्षमा शिक्षा मन्त्रालयको सचिव हुने नियम छ। विद्यालयका प्रधानाध्यापक नै गम्भीर घटनामा संलग्न देखिएपछि त्यसबारे निर्णय गर्न गत साउन १० गते व्यवस्थापन समितिको बैठक बसेको थियो। तर, बैठकले केही निर्णय गर्न सकेन।
साउन १६ गते संचालक समितिको बैठक बस्यो। त्यसबेला शिक्षामा नयाँ सचिव आएको भन्दै टारियो। त्यसयता समितिको बैठक बस्न सकेको छैन।
बुढानीलकण्ठ स्कुलमा देखिएको बदमासीबारे बुझ्न मन्त्रालयका सचिव सुरेश अधिकारीसँग पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।
संचालक समितिपछि स्कुललाई हेर्ने अर्को निकाय हो, व्यवस्थापन समिति। यसअघिका व्यवस्थापन समिति अध्यक्ष दीपक शर्मा भर्खरै सरुवा भएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा गएको खुल्यो।
घटनाबारे बुझ्न उनीसँग सम्पर्क त भयो। तर आफ्नै कार्यकालमा भएको घटनाबारे पनि उनी बोल्न चाहेनन्। उनले अब आफू सम्बन्धित निकाय नभएको भन्दै पन्छिए। यता भर्खरै नयाँ आएको मन्त्रालयको सह सचिव तथा व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दाहालले ‘नयाँ आएको’ भन्दै यसबारेमा केही पनि थाहा नभएको बताए।
‘म आएको दुई दिन मात्र भयो। मैले पनि बुझ्नु पर्ने हुन्छ। अनि मात्र कुरा गर्न सकिन्छ,’ उनले भने, ‘यो विषयमा त मलाई भन्दा प्रधानाध्यापक सँगै बुझ्दा राम्रो।’
भएको के थियो?
विद्यालयको कक्षा पाँचमा भर्नाका लागि नाम निस्किएका दुई विद्यार्थीको सट्टा नामै ननिस्किएका विद्यार्थी भर्ना गरेका थिए प्रधानाध्यापकले। कक्षामा भर्नाका लागि कृतिका बास्तोला र सुदेश्ना तिवारीले मेरिट निर्धारित कोटभित्रै नाम निकालेका थिए। दुवै समान अंकसहित ७७ औं स्थानमा रहेको देखिन्छ।
विद्यालयमा पैसा तिरेरै अध्ययन गर्नेमा ९४ जना र थप ४२ जना छात्रवृत्तिमा नाम निकालेर जम्मा एउटा कक्षामा १३६ जना विद्यार्थी अध्ययन गर्न पाउने नियम छ। तर, पैसा तिरेरै अध्ययन गर्न चाहेका मध्येको ७७ औं स्थानमा नाम निकालेका ती दुवै विद्यार्थी भर्ना हुन पाएनन्।
उनीहरूको स्थानमा नाम ननिस्केका दुई जना विद्यार्थी भर्ना भए तर विवरण भने उनीहरूकै थियो। प्रधानाध्यापक आचार्यले कृतिकाको नाममा कृषा बास्तोला (आइडी नम्बर BNKS758) र सुदेश्ना तिवारीको नाममा राशी कार्की (आइडी नम्बर BNKS921)लाई भर्ना गरेका थिए।
यी दुवैले प्रवेश परीक्षामा कम प्रतिशत ल्याएका थिए। ७७ औं स्थानमा भएका आफ्ना सन्तानको सट्टा अर्कैलाई विद्यालयले भर्ना गरेको थाहा पाएपछि अभिभावक विद्यालय गए।
परिवारहरूले बुढानीलकण्ठ नगरपालिका, शिक्षा मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म विद्यालयका प्रधानाध्यापक विरुद्ध उजुरी दिने तयारी गरे। त्यसपछि उनीहरूको पनि भर्ना लिइयो।
किर्ते गरेर विद्यार्थीको कानुनी परिचय नै बदलेर भर्ना गरेको पोल खुल्ने डरले थप दुई जनालाई पनि भर्ना गरे प्रधानाध्यापक आचार्यले।
राजीनामा छल्दै प्रधानाध्यापक
प्रधानाध्यापक आचार्यले प्रवेश परीक्षामा निकै तल रहेका विद्यार्थी भर्ना गरेको मात्र हैन विद्यार्थीको परिचय नै बदलेको पुष्टि भइसकेको छ। यो कानुनतः दण्डनीय हो।
विद्यार्थीको कानुनी परिचय नै बदल्न संलग्नमाथि किर्तेमा अनुसन्धान हुनुपर्नेमा उल्टो संरक्षण गरिरहेको छ व्यवस्थापन समिति र शिक्षा मन्त्रालयले।
विधानअनुसार व्यवस्थापन समितिले चाहेमा प्रधानाध्यापकलाई निलम्बन गर्न सक्छ। व्यवस्थापन समितिमा यसबारे छलफल भएको थियो। छलफलमा प्रधानाध्यापक आचार्यले आफ्नो गल्ती स्वीकार्दै कम्तीमा दशैंसम्म बस्न दिन माग गरेको स्रोतले बतायो।
उता मन्त्रालयका जिम्मेवार अधिकारीले पनि गम्भीर घटनामा जोडिएका प्रधानाध्यापक आचार्यमाथि कुनै कारबाही गरेको छैन।
यसबारेमा प्रधानाध्यापक आचार्यलाई भेट्न उकेराले गरेको प्रयास सफल भएन। विद्यालयमा जाँदा भित्र प्रवेश गर्न दिएनन्। मोबाइलमा सम्पर्क गर्दा ‘जरुरी मिटिङ’ रहेको र यो लामै चल्ने भन्दै पन्छिए।
उकेराकर्मी बुधबार बिहान स्कुल पुग्दा फोनमार्फत नै उनले भने, ‘अहिले त म मिटिङमा छु। भोलि पनि मिटिङ नै छ। अलि पछि भेटेर कुरा गरौला है!’
मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले भने सचिव र सहसचिव ‘व्यक्ति’ त्यसमा संलग्न भएको कारणले मात्र जोडिएको, त्यसबाहेक सम्पूर्ण काम गुठीले नै गर्ने गरेको बताए।
केही महिना अगाडिको घटना भए पनि सत्य के हो भनेर प्रधानाध्यापक सँगै कुरा गरेर मात्र यसबारे थप जानकारी दिने उनले बताए। उनले भने ‘दशैं कुर्नुस् न।’
असोज २५, २०८० बिहीबार ११:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।