नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य, कप्तान देवको कीर्तिमानी शतक
काठमाडौं : नेपालले यू-१९ प्रिमियर कपमा इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ। कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले इरानलाई बलियो लक्ष्य दिएको हो।
मलेसिया जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा अलआउट भए पनि ३५३ रन जोड्यो।
नेपालका लागि देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित ठीक १०० रनको योगदान दिए।। देव नेपालका लागि यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी बने।
गत वर्ष भएको आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा देवले कुवेतविरुद्ध पहिलो शतक हानेका थिए।
खेलमा नेपालले खराब सुरुवात गर्दा ओपनर अर्जुन कुमाल डक आउट भएका थिए। त्यसैगरी आकाश त्रिपाठी ३ रनमै आउट हुँदा नेपालले १० रनमै २ विकेट गुमाएको थियो।
यसपछि दीपक बोहरासँग मिलेर देवले तस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए। दीपकले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनको योगदान दिए।
त्यस्तै दीपक प्रसाद डुम्रेले मात्र ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन जोडेका थिए।
असोज २५, २०८० बिहीबार १०:५२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।