८० किलोमिटर लामो मुक्तिनाथ केबुलकारका लागि ५५ अर्बको लगानी जुट्यो
काठमाडौँ : प्रस्तावित मुक्तिनाथ केबुलकार निर्माणका लागि भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेड साझेदारीमा सहमत भयो।
विश्वकै सबैभन्दा लामो मानिएको प्रस्तावित केबुलकार परियोजना निर्माणसँगै लगानी गर्नेगरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबुलकार बनाउन दुवै कम्पनीबिच प्रारम्भिक सम्झौता भइसकेको छ।
मुक्तिनाथका अनुसार के एन्ड आरसँग केबुलकार बनाउनुका साथै अपरिवर्त्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको।
हालै समझदारी पत्रमा मुक्तिनाथका प्रबन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका थिए।
कम्पनी सचिव सुमित्रा पाण्डेका अनुसार ८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने छ।
२ प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ।
शिलान्यास भएको मितिले बढीमा ४ वर्षभित्र केबुलकार निर्माण सम्पन्न हुनेछ। मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ।
मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ भने केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ।
असोज २५, २०८० बिहीबार ०९:१९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।