रोहितले तोडे सचिनको शतकको कीर्तिमान, १५ ओभर अगाडि नै भारतले जित्यो खेल
एजेन्सी : भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले जारी विश्वकप क्रिकेटमा सचिन तेन्दुलकरको शतकको रेकर्ड तोडेका छन्।
उनको कीर्तिमानी शतकको सहयोगमा भारतले एकदिवसीय विश्वकपमा गए राति अफगानिस्तानलाई ८ विकेटले हरायो।
२ सय ७३ रनको विजयी लक्ष्य भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो। भारतको लागि रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको योगदान दिए।
विश्वकपमा सातौं शतक हान्दै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनले पूर्व स्टार सचिन तेन्दुलकरको नाउमा रहेको ६ शतकको कीर्तिमान तोडेका हुन्।
भारतका लागि ईशान किसनले ४७ र विराट कोहलीले ५५ रनको योगदान दिए।
यसअघि खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो।
जसका लागि हश्मातुल्लाह शाहिदीले सर्वाधिक ८० र आजमतुल्लाह ओमरजाईले ६२ रनको योगदान दिएका थिए।
भारतको विश्वकपमा यो लगातार दोस्रो जित हो। भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो।
असोज २५, २०८० बिहीबार ०७:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।