नक्कली शरणार्थी अनुसन्धानको साइडइफेक्ट : गम्भीर अपराधका अभियुक्तका मोबाइल सेट गायब हुन थाले
काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने भन्दै ठगी भएका घटनाको अनुसन्धानमा सबैभन्दा प्रभावकारी बनेको थियो आरोपहरूको मोबाइल।
पूर्व गृह सचिव टेकनारायण पाण्डे लगायतले डिलेट गरेका सामाग्री रिकभर गर्दा प्रहरीले आरोप पुष्टि हुने महत्त्वपूर्ण प्रमाण फेला पारेको थियो जसको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतकाहरु समेत अनुसन्धानमा तानिए।
कसको मोबाइलमा के-के भेटियो सार्वजनिक भए त्यही बेलामा। मोबाइलमा भएका सामाग्री डिलेट गरे पनि प्रहरीले डिजिटल फरेन्सिक ल्याबबाट रिकभर गर्ने सार्वजनिक भयो। त्यसपछिका अपराध अनुसन्धानमा प्रहरीले आरोपीहरूबाट मोबाइलै फेला पार्न सकेन।
गम्भीर अपराधमा प्रहरी हिरासतमा पुगेका र अनुसन्धानको दायरामा रहेकाहरू नयाँ मोबाइल बोकेर प्रहरीकोमा जान थाले। ६० किलो सुन तस्करीको अनुसन्धानमा तानिएका दीपेश पुनले त्यही गरे।
अनुसन्धानबाट जोगिँदै आएका उनी ६० किलो सुन तस्करीमा जोडिएका दावा छिरिङ अनि अमला रोकासँगको सम्बन्धमा भने अनुसन्धानमा तानिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएर उनलाई कागज गरायो। कागज गर्न जाँदा उनी नयाँ मोबाइल बोकेर गए। नयाँ मोबाइलमा कुनै प्रमाण फेला परेन।
यता भेपमा लुकाएर ल्याएको सुन तस्करीमा जोडिएका राहुल महराले पनि त्यही उपाय अपनाए। उनले आफूले चलाउने मोबाइलहरू नभेटिएको दाबी गर्दै प्रहरीलाई दिएनन्।
उनले आइफोन थर्टिन प्रोम्याक्स, फोर्थटिन प्रोम्याक्स र हुवावेको सेट चलाउने गरेको प्रहरी अनुसन्धानमा खुल्यो। तर ती मोबाइल सेट फेला परेन।
प्रहरीले बयानमा उनीसँग मोबाइलबारे जिज्ञासा राख्दा उनले अनेक बहाना बनाएर मोबाइल दिएनन्। आइफोन थर्टिन फुटेर ब्रिगिएपछि दुई-तीन पटक बनाउँदा पनि नचलेपछि घरमा फालिदिएको दाबी गरे।
फोर्थटिन प्रोम्याक्स मोबाइल साथी गोपाल शर्माको भएको र मागेर केही समय चलाएपछि उसैलाई फिर्ता गरेको बताए। अनि हुवावे मोबाइल घरमा नै राखेको दाबी गरे।
‘मेरो आफन्तले आइफोन थर्टिन र हुवावे घरमा खोज्दा फेला नपरेको भनेर मलाई जानकारी गराएकोले उक्त मोबाइलहरू उपलब्ध गराउन सक्दिन’ उनले बयानमा भनेका छन्।
अनुसन्धानकोक्रममा थप विवरण खुलेपछि सिआइबीले दोहोर्याएर राहुलसँग बयान लियो। उनले साथीको मोबाइल साथीलाई नै दिएको भनेर दाबी गरेका थिए। त्यही मोबाइलमा ९८२९५८….. नम्बरको प्रयोग भएको देखियो। सो नम्बर राहुलसँग जोडिएको थियो।
पूरक बयानमा उनले १४ प्रो आइफोन २०८० को असारको पहिलो हप्ता नै गोपाल शर्मालाई फिर्ता दिएको दाबी गर्दै त्यसमा उनीसँग सम्बन्धित मोबाइल नम्बर कसरी प्रयोग भयो त्यसबारे भने केही थाहा नभएको दाबी गरे।
उनको दाबी अनुसार त्यो मोबाइल नम्बर उनको मामाको छोरा होमबहादुर थापाले प्रयोग गर्ने गरेका थिए।
प्रहरीले होमबहादुरको पनि बयान लियो। बयानमा उनले खुलाए अनुसार राहुल आफ्नै फुपूको छोरा भएकाले आउने जाने भइरहने सात महिनादेखि खुमलटारमा राहुलसँगै बस्नै आएको खुलाए।
उनको बयान अनुसार उनले सो मोबाइल नम्बर सन् २०२२ मा मनोज पुन मगरसँग मागेर चलाएको खुलाए। पहिला सो नम्बर एप्पल आइफोन सिक्समा प्रयोग गरेको, सो मोबाइल बिग्रिएपछि भिटेनमा प्रयोग गरेको खुलाए। त्यसपछि उनले आइफोन एस्सएस प्रयोग गर्न थाले।
सुन तस्करहरूसँग सो मोबाइलबाट सम्पर्क भएको देखिएको सन् २०२३ अगस्ट २८ मा राहुलले नेट चलाउने भन्दै आफ्नो सिम राहुलले लिएको खुलाए। उनले सो सिम साथीलाई फिर्ता दिएको दाबी गरेकै सेटमा राखेर चलाएको देखियो। जुन मोबाइलबारे उनले थाहा छैन भनेर टारेका थिए।
थापाको बयानमा रेडमिनोट र आइफोन १४ प्रोम्याक्स राहुलले चलाउने मोबाइल सेटहरू रहेको समेत खुलाइदिए। सिम राहुललाई दिएपछि आफूले नपाएको उनले बयानमा खुलाएका छन्।
यसले सुन तस्करीमा जोडिएका चिनिया नागरिकसँगको आफ्नो सम्बन्ध लगायत मोबाइलमा रहेका अन्य विवरणहरू प्रहरीले फेला पार्न सक्ने भयले उनले नियमित प्रयोग गर्दै आएको मोबाइल लुकाएको वा नष्ट गरेको देखिन्छ। अभियोग पत्रमा गोपाल शर्मा नामका व्यक्तिसँग भने बयान लिएको देखिँदैन।
नक्कली शरणार्थीको अनुसन्धानमा पक्राउ परेका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाले समेत मोबाइलबारे रोचक बयान दिएका थिए।
उनले प्रयोग गर्ने आइफोन १३ प्रोम्याक्स मोबाइल प्रहरीले फेला पारेन। उनले बुझाएनन्। प्रहरीले सो मोबाइलबारे जिज्ञासा राख्दा उनले’ भारतको गोरखपुरको खोलामा फ्याकेको’ बयान दिएर आफूले प्रयोग गर्ने भनेर एमआई कम्पनीको नयाँ मोबाइल दिएका थिए।
प्रहरीले अनुसन्धानमा मोबाइल नम्बरसहित कल विवरणको विश्लेषण गर्ने विधि प्रयोग गर्न थालेको लामै भइसक्यो। मोबाइल चोरी हुने घटना बढेपछि प्रहरीले आइएमइआइ नम्बरको आधारमा चोरी भएको वा हराएको मोबाइल फेला पार्न थाल्यो।
प्राय सुन र पैसा चोर्नेहरूले घरमा रहेका मोबाइल समेत उठाएर लान्थे। उनीहरूले मोबाइल विक्री गर्ने वा त्यसमा आफ्नो सिम हाल्नासाथ निगरानीमा बसेको प्रहरीले सूचना पाएर पक्राउ गर्न थालेपछि चोरहरूले जति महँगो मोबाइल भए पनि चोर्न छाडेका थिए।
प्रहरीले अपराधमा नयाँ प्रविधिको प्रयोग बढेसँगै अनुसन्धानका लागि प्रधान कार्यालयमा डिजिटल प्रमाण सङ्कलन गर्न डिजिटल फरेन्सिक ल्याब स्थापना गरेपछि डिजिटल उपकरणबाट हटाइएका सामाग्रीहरू पनि पुन फेला पार्न थाल्यो। त्यसपछि गम्भीर अपराधका आरोपहरूले मोबाइल सेटै नष्ट गर्ने थाले।
प्रहरीले चाहेमा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा भएका संवाद र सामाग्रीको आदानप्रदानको विवरण मगाउन नसक्ने हैन। तर अति गम्भीर अपराध (मानव बेचबिखन, हतियार, लागुऔषध, आतङ्कवाद, बालबालिका सम्बन्धी अपराध) बाहेकका अपराधमा ती कम्पनीहरूले त्यति चासो राख्दैनन्।
अदालतको आदेशदेखि लिएर परस्पर कानुनी सहायता सम्बन्धी सन्धि भएको हो हैनसम्म उनीहरूले हेर्दा नेपालको प्रहरीले मात्र चाहेर सिधै कम्पनीबाट आवश्यक सामाग्री माग्न सक्दैन। नेपालमा ती कम्पनीको एजेन्ट नभएकाले नेपालको कानुन अनुसार मोबाइल सेट फेला नपरे पनि डिजिटल सामाग्री सङ्कलन गर्न सम्भव छैन।
असोज २४, २०८० बुधबार २०:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।