विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले टस हार्‍यो, टोलीमा एक परिवर्तन

विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले टस हार्‍यो, टोलीमा एक परिवर्तन

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा घरेलु टोलीले टस हारेको छ।

दिल्लीको अरुण जेटली स्टेडियममा अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए।

अफगानिस्तानले बंगलादेशसँगको टिमलाई नै निरन्तरता दिँदा भारतले भने एक परिवर्तन गरेको छ टिममा। उसले रविचन्द्रन अश्विनको ठाउँमा शार्दुल ठाकुरलाई टिममा फर्काएको छ।

पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको अफगानिस्तान पहिलो जितको खोजीमा हुँदा भारत आफ्नो विजयी लयलाई कायम राख्न चाहन्छ।

भारतले विश्वकपको पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले नै हराएको थियो।

अफगानिस्तानले पछिल्लो समय खेलेका पाँचवटै एकदिवसीय खेलमा पराजित हुँदा भारतले खेलेका पाँचमध्ये चार खेलमा जित निकालेको छ।

भारत र अफगानिस्तानबीच भएका तीनवटा एकदिवसीय खेलमा दुई वटामा भारतले जित्दा एउटा खेल टाइ भएको थियो।

भारत र अफगानिस्तानबीच पछिल्लो पटक सन् २०१९ को विश्वकपमा खेल भएको थियो। सो खेलमा भारत ११ रनले विजयी भएको थियो।

असोज २४, २०८० बुधबार १४:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।