बाइडेनसँगको संवादमा नेतन्याहूले भने- ‘जो, यिनीहरू आईएसआईएस भन्दा खराब रहेछन्’

बाइडेनसँगको संवादमा नेतन्याहूले भने- ‘जो, यिनीहरू आईएसआईएस भन्दा खराब रहेछन्’

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिम नेतन्याहूले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास आईएसआईएस (इस्लामिक स्टेट)भन्दा पनि खराब भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमासले गरेको आक्रमणबारे जानकारी दिँदै नेतन्याहूले यस्तो बताएका हुन्। इजरायलले यो फोन कलको भिडियो सार्वजनिक गरेको छ।

नेतन्याहुले अमेरिकी राष्ट्रपति बाइडेनलाई भने, ‘जो (बाइडेन), म तपाईंलाई हामीले सामना गरिरहेको कठिन परिस्थितिको वास्तविक चित्र प्रस्तुत गर्न चाहन्छु। हामीमाथि शनिबार हमला गरिएको थियो। मैले यस्तो अहिलेसम्म कहिल्यै देखका थिएनौं।

नेतन्याहुले भने, ‘सयौं मानिसहरू मारिए। परिवारहरू घरमा सुतिरहेको बेला मारिए। महिलाहरूलाई बलात्कार र हत्या गरियो। बालबालिकासहित सयभन्दा बढी मानिसहरूलाई अपहरण गरियो।’

‘हामीले पछिल्लोपटक कुरा गरेदेखि यो बर्बरता झन् झन् झन् झन् झन् बढेको छ। उनीहरूले सिपाहीहरूको घाँटी काटे। उनीहरूले सबैलाई मार्ने निर्णय गरेका थिए’, उनले अगाडि भने।

उनले फेरि भने, ‘हामीले देशको इतिहासमा यस्तो कहिल्यै देखेका थिएनौं। तिनीहरू (हमास) आईएसआईएस भन्दा पनि खराब रहेछन्। हामीले उनीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ।’

हमासले १०० देखि १५० जना इजरायलीलाई बन्धक बनाइएको इजरायलको सेनाले पुष्टि गरेको छ। हमासको आक्रमणमा मारिने इजरायलीको संख्या १२ सय पुगेको छ भने जवाफी कारबाहीमा गाजामा ९५० जनाको मृत्यु भएको छ।

इजरायलका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायललाई सहयोग गरेकोमा धन्यवादसमेत दिएका छन्। 

असोज २४, २०८० बुधबार १२:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।