घाँटीमा हड्डी अड्किएर ज्यान गुमाएका डा. ज्ञानेश्वर : जिल्लाले मृतकलाई नै दाेषी देखाएपछि उच्च अदालत पुग्यो परिवार

घाँटीमा हड्डी अड्किएर ज्यान गुमाएका डा. ज्ञानेश्वर : जिल्लाले मृतकलाई नै दाेषी देखाएपछि उच्च अदालत पुग्यो परिवार

बुटवल : खसीको मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि अस्पताल लगिएका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको मृत्युमा उपचारमा संलग्न चिकित्सकको कुनै लापरबाही नभएको जिल्ला अदालत रुपन्देहीको फैसलापछि परिवारले न्यायका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन गरेका छन्।

नेपाल मेडिकल काउन्सिलमा २०औं वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरूले बनाएको प्रतिवेदनलाई अदालतले काल्पनिक विवरण भनेपछि मंगलबार पुनरावेदन गरेको मृतकका छोरा प्रज्वल सिंहले बताए।

‘न्यायका लागि अदालतमा पुगे पनि अदालतले झनै अन्याय गरेको महसुस गरेरै यो केश पुनरावेदनमा लगेका हौँ,’ उनले भने, ‘आशा छ यहाँबाट न्याय पाउँछौँ।’

१० वर्षदेखि भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) मा कार्यरत सिंहको २०७६ माघ २ गते मृत्यु भएको थियो। मेडिकल काउन्सिलले भने यस घटनामा उपचारमा संलग्न सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाही देखिएको ठहर गरेको थियो।

२०७६ भदौ १० गते राति खसीको मासु खाँदा घाँटीमा हड्डी अड्किएपछि सोही अस्पतालमा भर्ना भएका उनको थप उपचारका लागि काठमाडौं लगिएकामा माघ २ गते मनमोहन अस्पताल काठमाडौंमा मृत्यु भएको थियो।

उपचारका क्रममा लापरबाही भएको भन्दै डा. सिंहकी पत्नी वीणा सिंहले तीन चिकित्सकलाई प्रतिवादी बनाएर १६ कार्तिक २०७७ मा जिल्ला अदालतमा रिट दायर गरेकी थिइन्।

जिल्ला अदालत रुपन्देहीले १४ चैतमै न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले चिकित्सकको लापरबाही नभइ बिरामीकै लापरबाहीले मृत्यु भएको ठहर गरेको थियो।

फैसलामा बिरामीलाई मुखबाट खान नहुने सल्लाह दिए पनि आफूखुसी गरेको, त्यस्तै इन्डोस्कोपी गर्ने प्लान गरिएकोमा बिरामी स्वयंले कुनै पनि जाँच परीक्षण कार्य गर्न सहमति नदिएकाले उपचारमा बाधा परेको उल्लेख छ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि मृतक डा. सिंहकी पत्नी वीणा सिंहले पुनरावेदन गरेकी हुन ।

परिवारको प्रश्न : गल्ती नभए काउन्सिलले एक वर्ष डाक्टरलाई किन अभ्यास गर्न रोक्यो?
यस घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्दा भने उपचारमा लापरबाही देखिएको ठहर गरेको थियो। पीडित परिवारको तर्फबाट डा. सिंहकी श्रीमती वीणा सिंहले काउन्सिलमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।

पीडित परिवारले ३० माघ २०७७ मा नेपाल मेडिकल काउन्सिललाई काउन्सिलको नियमावलीको नियम २२ बमोजिम आचारसंहिता विपरीत हेलचेक्य्राइँ र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गरी पाऊँ भन्दै पत्राचार गरेका थिए।

काउन्सिलले युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जलाई ७ चैत २०७६ मा निर्देशनसहितको पत्राचार गरी उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक, डा. सन्तोष साहसँग थप स्पष्टीकरण माग गरेको थियो।

मेडिकल काउन्सिलले युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जलाई दिएको निर्देशन।

स्पष्टीकरण मागपछि काउन्सिलले डा. सन्तोष साहको संलग्नता नदेखिएकाले उनलाई सफाइ दिने र विश्व तुलाचनको हकमा एक वर्षका लागि ईसोफेजिएल इण्डोस्कोपी गर्न नदिने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

त्यसैगरी लकडाउनका कारण स्पष्टीकरण दिन नसकेका एनेस्थेसियाका चिकित्सक डा. लक्ष्मी पाठकलाई लिखित जवाफ दिन दुई हप्ताको समय दिने निर्णय गरेको थियो। काउन्सिलको यो कारबाहीप्रति पनि डा. सिंहको परिवार सन्तुष्ट भने थिएन।

नेपाल मेडिकल काउन्सिलले डा. लक्ष्मी पाठक र डा. विश्व तुलाचनलाई सचेत गराएको पत्र।

पुनः परिवारले ४ असोज २०७७ मा काउन्सिललाई अनुसन्धान प्रक्रिया दोहोर्याइ कडा सजाय दिन र छानबिनको प्रतिवेदन उपलब्ध गराउन निवदेन दिएको थियो।

परिवारको तर्फबाट डा. सिंहकी श्रीमती विनाले उपचारमा संलग्न डा. विश्व तुलाचनलाई काउन्सिलको कानूनमा उल्लेख गरिएको कडा सजाय दिन, डा. लक्ष्मी पाठकलाई अनुसन्धान पूरा गर्न र काउन्लिले चोख्याएका डा. सन्तोष शाहमाथि पनि पुनः अनुसन्धान गर्नसमेत माग गरेकी थिइन्।

त्यसपछि भने मेडिकल काउन्सिलले गरेको छानबिनमा डा. सिंहको मृत्यु चिकित्सकको लापरबाहीले भएको प्रतिवेदन तयार गरेको थियो। उपचारमा लापरबाही गरेको ठहर गरी डा.विश्व तुलाचनलाई एक वर्ष अभ्यास गर्नसमेत रोक लगाउनुका साथै काउन्सिलले अस्पताललाई सेवा सुधार गर्न निर्देशन पनि दिएको थियो।

घटना के थियो? 
युनिभर्सल कलेज अफ मेडिकल साइसेन्जका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंह १० भदौ २०७६ मा श्रीमती वीणासहित एक पार्टीमा सामेल भए। साँझ ९ बजे खाना खाने क्रममा खसीको हड्डी घाँटीमा अड्कियो। त्यसपछि तत्कालै उनलाई मेडिकल कलेज भैरहवामा लगियो।

त्यो रात डा. सिंहको उपचार भएन। ११ भदौमा चिकित्सकको टोलीले घाटीमा अड्किएको हड्डी निकाल्न अप्रेसन गर्यो। पाँच घण्टा लगाएर अप्रेसन गरेपछि आधा हड्डी निस्किएको र आधा हड्डी पेटमा पुर्याएको चिकित्सकले परिवारलाई बताए।

अप्रेसन सफल भएको भन्दै जुस खान हुने बताए। तर, १४ गते डा. सिंहले बान्ता गरे। उनलाई असहज भयो। त्यसपछि परिवारले उनको सीटी स्क्यान गर्न आग्रह गरे। अस्पतालले पर्दैन भने पनि सीटी स्क्यान गर्दा हड्डी घाँटीमै देखियो। 

त्यसपछि पुनः डा. सिंहलाई आईसीयूमा सारियो। आईसीयूमा लैजानासाथ अस्पतालले अर्को अप्रेसन गर्न काठमाडौं लैजानुपर्ने परिवारलाई बतायो। परिवारले हेलिकोप्टरमार्फत काठमाडौं लगे।

मनमोहन अस्पतालमा लगेर बिरामी भर्ना भएपछि उपचार सुरू भयो। त्यहाँ सुरुमै बिरामीको इन्डोस्कोपी गरियो। इन्डोस्कोपी गरेर हेर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले छातीमा समेत इन्फेक्सन भएको देखियो। तीन महिना आईसीयूमा राखेर उपचार गरे पनि सुधार भएन। अन्ततः २ माघ २०७६ मा डा. सिंहको मृत्यु भएको थियो।

युनिभर्सल कलेज अफ मेडिकल साइसेन्जका चिकित्सकले आधा हड्डी निकालेर बाँकी आधा पेटमा पुगेको बताए पनि हड्डी घाँटीमै रहेकाले खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत संक्रमण भएकाले उनको मृत्यु भएको मनमोहन अस्पतालले जनाएको थियो।

असोज २४, २०८० बुधबार ११:५८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।