भारतले भिसा नदिएपछि पाकिस्तानी फ्यान हैरान, पीसीबीले लेख्यो आईसीसीलाई चिठ्ठी

भारतले भिसा नदिएपछि पाकिस्तानी फ्यान हैरान, पीसीबीले लेख्यो आईसीसीलाई चिठ्ठी

एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका अशरफले पाकिस्तानी फ्यान र पत्रकारलाई भारतीय भिसा दिन लगातार ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका छन्।

बोर्डले भिसा पाउनमा भएको ढिलाइका सम्बन्धमा आईसीसीलाई पत्रसमेत लेखेको छ।

पाकिस्तानले विश्वकपमा दुई खेल खेलिसकेको र दुवैमा जितसमेत निकालेको छ। अक्टोबर १४ मा, पाकिस्तान अहमदाबादमा भारतसँग भिड्दैछ। यो प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित खेल हो।

तर, अहिलेसम्मको अवस्था हेर्दा प्रेस बक्स र स्ट्यान्डमा पाकिस्तानको उपस्थितिको सम्भावना नगण्य छ। अशरफले पाकिस्तानका विदेश सचिव साइरस सज्जाद काजीलाई भेटेका छन् र यस सम्बन्धमा भारतको गृह मन्त्रालयसँग वार्ता गर्न अनुरोध पनि गरेका छन्।

पीसीबीले आईसीसी र बीसीसीआईलाई आफ्नो दाबीको स्मरण गराउँदै भन्यो, ‘पाकिस्तानी फ्यान र पत्रकारहरूले आईसीसी क्रिकेट विश्वकप कभर गर्न भिसाको सम्बन्धमा अझै पनि अन्योलको सामना गर्नु परेकोमा पीसीबी अत्यन्तै निराश छ। भारतीय सञ्चारमाध्यमले पाकिस्तानी खेलाडीको सुरक्षालाई लिएर प्रकाशन गरेका समाचारहरूलाई ध्यानमा राख्दै खेलाडीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ।’

विश्वकप कभरेजको लागि आईसीसीद्वारा मान्यता प्राप्त ६० पाकिस्तानी पत्रकारहरूलाई भिसा उपलब्ध गराउन बीसीसीआईसँग सम्पर्कमा रहेको आईसीसीले जनाएको छ। तर, कति फ्यानलाई सीमा पार गर्न दिइने भन्नेबारेमा अझै स्पष्ट छैन।

पाकिस्तानमा एक स्वतन्त्र पत्रकारसँग कुरा गर्दै पीसीबीका पूर्व अध्यक्ष एहसान मानीले बीसीसीआईले पाकिस्तानका बासिन्दाहरूलाई भिसा लिनका लागि कुनै समस्या नहुने ग्यारेन्टी दिएको थियो।

मानीले भने, ‘आईसीसी प्रतियोगिता आयोजना गर्ने प्रत्येक आयोजक राष्ट्रले टोली, अधिकारी, पत्रकार र फ्यानलाई भिसा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गर्छ। आईसीसीले प्रतियोगिता सुरु हुनुअघि नै भिसा उपलब्ध गराएको कुरा सुनिश्चित गरिसकेको थियो। २०१९ र २०२१ बीचको बोर्ड बैठकमा बीसीसीआई र आईसीसीलाई भिसा उपलब्ध गराउने विषयमा सोधिएको थियो। त्यसपछि दुवैले यस विषयमा कुनै समस्या नहुने बताएका थिए। यो आईसीसीको कार्यक्रम हो र प्रतियोगिता सुरू हुनुअघि नै सबै समस्याको समाधान गरिनुपर्थ्यो।’

पाकिस्तानी टोलीलाई पनि उनीहरूको उडानको एक दिनअघि मात्रै भिसा दिइएको थियो, जसकारण उनीहरूले दुबईमा आफ्नो पूर्व निर्धारित प्रशिक्षण क्यम्प रद्द गर्नुपरेको थियो। टोली २७ सेप्टेम्बरमा हैदरावाद पुगेको थियो।

असोज २४, २०८० बुधबार ०९:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।