फरीद अहमदले दिल्ली पुगेर भने, ‘एसियाडको स्वर्ण पदक भारत र अफगानिस्तानबीच बाँड्नुपर्‍थ्यो

फरीद अहमदले दिल्ली पुगेर भने, ‘एसियाडको स्वर्ण पदक भारत र अफगानिस्तानबीच बाँड्नुपर्‍थ्यो

काठमाडौं : अफगानिस्तानका बायाँ हाते फास्ट बलर फरीद अहमदले चीनको हाङझाओमा भएको एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्णपदक बाँडिनुपर्ने बताएका छन्।

भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा एसियाली खेलकुदको पुरुष क्रिकेट टोलीमा सहभागी उनले खेल रद्द भएपछि पदक बाँडिनुपर्ने धारणा राखे।

उनले पीटीआईसँग हाँस्दै भने, ‘खेल रद्द भएपछि स्वर्ण पदक दुवै टोलीलाई दिइनुपर्थ्यो, वरीयताको आधारमा पदक दिनु आइडियल काम हैन। खेल भएको भए मजा हुन्थ्यो।’

एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले १८.२ ओभर ब्याटिङ गर्दा पाँच विकेट गुमाएर ११२ रन बनाउँदा पानी परेपछि खेल रद्द भएको थियो।

विश्व वरीयताका आधारमा अगाडि भएको आधारमा भारतलाई विजेता घोषित गर्दै स्वर्ण पदक दिइएको थियो।

फरीदले अफगानिस्तानका लागि १५ एकदिवसीय र २८ टी–२० खेल खेलेका छन् र पाकिस्तानविरुद्धको सेमिफाइनलमा पनि चार विकेट लिएर उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

मल्टिस्पोर्टस् प्रतियोगितामा स्वर्ण पदक बाँड्नु असामान्य होइन। इटालीका जियानमार्को ताम्बेरी र कतारका मुताज बार्सिम दुवैले टोकियो ओलम्पिकमा २.३७ मिटरको उचाइ लगाएपछि दुवैले स्वर्ण जितेका थिए। तर, वर्षाका कारण प्रतियोगितामा कुनै अवरोध भएन।

विश्वकपमा पाकिस्तानको तर्फबाट रिजर्भ खेलाडीको रूपमा रहेका फरीद केही दिनअघि मात्र चीनको हाङझाओबाट दिल्लीमा आएर टिममा सामेल भएका थिए।

चीनमा क्रिकेट खेल्दाको अनुभवबारे उनले भने, ‘यो राम्रो थियो। तर, स्टेडियममा उपस्थित धेरैलाई क्रिकेटको नियमको बारेमा थाहा थिएन। उनीहरू कोही आउट भए पनि ताली बजाउँथे कसैले चौका वा छक्का हान्दा पनि ताली बजाउँथे।’

असोज २४, २०८० बुधबार ०८:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।