सुन तस्करीमा राहुललाई प्रतिवादी बनाउने प्रस्ताव सरकारी वकिललाई ‘मन परेन’ बयान पुगेन भन्दै सीआईबीको राय फर्कायो

सुन तस्करीमा राहुललाई प्रतिवादी बनाउने प्रस्ताव  सरकारी वकिललाई ‘मन परेन’  बयान पुगेन भन्दै सीआईबीको राय फर्कायो

काठमाडौं : सरकारी वकिलको कार्यालय काठमाडौंले भेपमा लुकाएर सुन तस्करी भएको घटनाको प्रहरीको प्रस्तावित राय सुझाव प्रहरी कार्यालयमै फिर्ता गरेको छ।

सो घटनामा प्रतिवादी कायम गरिएकाहरूबारे पर्याप्त प्रमाण नदेखिएको भन्दै मङ्गलवार सरकारी वकिलको कार्यालयले प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमै फिर्ता पठाएको हो।

सरकारी वकिलको कार्यालय प्रतिवादी बनाइएकामध्ये विशेष राहुल महराको बयानप्रति असन्तुष्ट देखिएको छ। उसले बयान अपुरो रहेको भन्दै पूरक बयान गर्न निर्देशनसहित फाइल पठाएको हो।

भेपको यो दोस्रो अनुसन्धान हो। पहिलो अनुसन्धान सिआइबीले कृष्णबहादुर महरा र राहुल महरासँग बयान पनि नलिई अनि प्रतिवादी नबनाई प्रस्तावित राय बुझाएको थियो। सोही आधारमा भेपमा लुकाएर ल्याएको सुन चोरीमा संलग्न भन्सार कर्मचारीहरूसहितका पुर्पक्षका लागि थुनामा गए।

सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महरा बाबु-छोराको बाक्लो सम्पर्क रहेको प्रमाण भए पनि अनुसन्धानको दायरामै नल्याएको सार्वजनिक भएपछि दबाबमा परेको सीआईबीले राहुललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

कृष्णबहादुर महरासँग बयान लियो तर प्रमाण नपुगेको भनेर प्रतिवादी बनाउन सिफारिस गरेन। राहुललाई प्रतिवादी बनाउन सिफारिस गरेको प्रस्तावित रायमा सरकारी वकिल सन्तुष्ट देखिएनन्।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको आरोपमा राहुलसँगै प्रहरीले तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र निमा गुरुङलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। निमा फरार छन्।

चिनिया नागरिक ली हासङ र दावाजिन यो तस्करीको मुख्य योजनाकार देखिएका थिए। तर उनीहरू फरारै रहेकाले प्रतिवादी बनाउन सिफारिस गरिएको छैन।

दावा छिरिङ यस अगाडिको ६० किलो सुन तस्करीमा पक्राउ परेपछि मात्रै सिआइबीले उनलाई पनि यो प्रकरणमा प्रतिवादी बनायो। उनी सोही मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

६० किलो सुन तस्करीमा पनि राजनीतिक परिवारका सदस्यहरू दीपेश पुन लगायतकाहरुलाई उन्मुक्ति दिएर अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।

भेपमा राहुललाई चिनिया सुन तस्करको सहयोगीको रूपमा प्रहरीले प्रतिवादी बनाउन सिफारिस गर्यो तर सरकारी वकिलले प्रमाण नपुगेको भन्दै फिर्ता पठाएकाले कतै राहुलले पनि बाबु कृष्णबहादुरले जस्तै उन्मुक्ति पाउने त हैन भन्ने शङ्का बढाएको छ।

असोज २३, २०८० मंगलबार २१:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।