राष्ट्रिय शोक घोषणा गरेर प्रधानमन्त्री र स्वास्थ्यमन्त्री तामझाममा

राष्ट्रिय शोक घोषणा गरेर प्रधानमन्त्री र स्वास्थ्यमन्त्री तामझाममा

काठमाडौं : मुस्लिम कट्टरवादी समूह हमासको आक्रमणमा परी इजरायलमा मारिएका दश नेपालीको सम्मानमा सरकारले मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गर्यो।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार मंगलबार सरकारी कार्यालय तथा विदेशस्थित नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भयो।

तर, आफैँले गरेको राष्ट्रिय शोकको निर्णयको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मजाक बनाए।

उनीहरू मंगलबार स्वास्थ्य मन्त्रालयको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामझामका साथ मनाइएको ‘विश्व मानसिक स्वास्थ्य दिवस’को कार्यक्रममा सहभागी भए।

कार्यक्रममा प्रधानमन्त्री दाहाल प्रमुख अतिथिको रूपमा सहभागी हुँदा स्वास्थ्य मन्त्री बस्नेत पनि अतिथिकै रूपमा मञ्चमा ठाटिएर बसेका थिए।

प्रधानमन्त्री दाहालले कार्यक्रमको सम्बोधनको सुरूमा इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीको निधन भएकोप्रति मृतकलाई श्रद्धाञ्जली र मृतकका परिवारप्रति समवेदना प्रकट पनि गरे।

‘आजको दिन एउटा बडो संवेदनशील र विशिष्ठ दिन पर्न गएको छ,’ उनले भने, ‘विश्व मानसिक स्वास्थ्य दिवस र राष्ट्रिय शोक दिवस सँग–सँगै मनाउने एउटा विशिष्ठ स्थिति बन्न गएको छ।’

निकै नै संवेदनशील दिनको रूपमा यो स्मरणमा रहिरहने उनले तर्क गरे।

प्रधानमन्त्री दाहालले पूर्ण रूपमा स्वस्थ रहनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य महत्वपूर्ण हुने तर्क गरे। स्वस्थ नागरिक नै देशको सर्वाङ्गीण विकासको मुख्य आधार भएको प्रधानमन्त्री दाहालले बताए।

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले प्रधानमन्त्री दाहालले मानसिक रोगका विषयमा चासो देखाएकाले शोकको समयमा कार्यक्रम गरेको तर्क गरे।

‘प्रधानमन्त्रीज्यूले मानसिक रोगका बारेमा केही गर्नुपर्छ है भनेर इन्ट्रेष्ट पनि देखाउनुभएको हुनाले आज श्रद्धाञ्जली दिएर भएर पनि यो दिवसलाई अरू किसिमका कार्यक्रमलाई थातिँ राखेर सञ्चालन भएको छ,’ उनले भने।

त्यसैगरी केही प्रदेश (स्वास्थ्य) मन्त्रीहरूलाई समेत कार्यक्रममा निम्तालुका रूपमा बोलाइएको थियो।

कार्यक्रममा विभिन्न दाता र स्वास्थ्य क्षेत्रमा काम गरेवापत भन्दै केही कर्मचारी, स्थानीय तह, स्वास्थ्य क्षेत्रमा लामो काम गरेका व्यक्तिलगायतलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री बाहिरिएपछि नाजगानको समेत उत्सव भएको थियो।

असोज २३, २०८० मंगलबार १९:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।