आईसीसी विश्वकपमा इंग्ल्याण्डले पहिलो जित, बंगलादेश १३७ रनले पराजित

आईसीसी विश्वकपमा इंग्ल्याण्डले पहिलो जित, बंगलादेश १३७ रनले पराजित

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पहिलो जित निकालेको छ।

बंगलादेशलाई १३७ रनको पराजित गर्दै इंग्ल्याण्डले भारतमा जारी विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको हो। पहिलो खेलमा इंग्ल्याण्ड न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो।

३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २२६ रनमा समेटिन पुग्यो। उसका लागि लिट्टन दासले ७६ र मुस्ताफिजुर रहिमले ५१ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक टोहिद हृदोय ३९, टस्किन अहमद १५, म्हेदी हसन १४, शोरिफूल इस्लाम १२ रनमा आउट हुँदा मुस्ताफिजुर रहमानले अविजित ३ रन जोडे।

बंगलादेशका सकीब अल हसन र टन्जिद हसन समान एक रनमा हुँदा नजमुल होसेन सान्तो डक भए।

इंग्ल्याण्डका रीस टोप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क वुड, आदिल रसिद, साम करण र लियम लिभिङस्टोनले समान एक-एक विकेट लिए।

त्यसअघि धर्मशाला क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन जोड्यो।

धर्मशाला क्रिकेट रङ्गशाला

उसका लागि डेविड मलानले १०७ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १४० रनको शतकीय पारी खेले।

जो रुटले ८२ र जोनी बेयरिस्टोले ५२ रनको अर्धशतकीय पारी खेल्दा जोस बट्लर र ह्यारी ब्रुकले २०-२० रनको पारी खेले।

क्रिस वोक्स १४, साम करण ११, अदिल रसिद ११ रनमा आउट हुँदा मार्क वुड र रीस टोप्लेले अविजित रहँदै क्रमशः ६ र १ रन जोडे।

बंगलादेशका म्हेदी हसनले चार, शोरिफूल इस्लामले तीन तथा टस्किन अहमद र सकिब अल हसनले समान एक-एक विकेट लिए।

यसअघि भएको पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।

असोज २३, २०८० मंगलबार १८:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।