भुवन केसीको कुर्सी खोसिदिने नीर शाहको चेतावनी
काठमाडौं : अभिनेता नीर शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कुर्सी खोसिदिने चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित नेपाल चलचित्र निर्माता संघको वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा अभिनेता शाहले फिल्मकर्मीको भावना विपरीत जान थालेको अवस्थामा बोर्डको कुर्सीबाट विस्थापित गर्नसक्ने चेतावनी दिए।
अध्यक्ष केसीले चलचित्र विकास बोर्डको उद्धेश्य र भावना विपरीत गएर काम गरिरहेको उनको आरोप छ।
केसीप्रति लक्षित गर्दै उनले भने, ‘फिल्मकर्मीहरूको भावनाबाहिर गएर यसबाट डगमगाए, नबिर्सनुस् तपाईं बसेको कुर्सी पनि अस्थायी हो। जसरी तपाईंलाई त्यहाँ स्थापित गरियो। त्यसरी नै विस्तापित पनि गर्न सकिन्छ।’
उनले प्रस्तावित फिल्मसम्बन्धी विधेयकले बोर्डको अधिकार खोस्ने र फिल्म क्षेत्रलाई थप धरासायी बनाउने भन्दै कुनै पनि हालतमा त्यो विधेयक सच्याउन आग्रह गरे।
बोर्डका कार्यशैली परिवर्तन भए स्वीकार्न सकिने भए पनि मन्त्रालयको स्वार्थका लागि विधेयक पास गरे संघर्ष गर्ने चेतावनीसमेत दिए।
‘वर्तमान गठबन्धनको सरकारले अहिलेको अवस्थामा बोर्डलाई अपग्रेट गर्न सक्यो भने हाम्रो सहमति हुन सक्ला’, उनले बोर्ड अध्यक्ष केसीतर्फ हेर्दै भने, ‘अहिलेका तपाईंको मन्त्रालयमा कोही सरुवा भएर आएको आधारमा चलचित्र क्षेत्रको कखग नै नबुझेको अनेक किसिमका औतारीको ह्विपमा रगत पसिना बगाएर प्राप्त गरेको दस्तावेजलाई जे मन लाग्यो त्यहि गरेर परिवर्तन गर्नसक्ने अवस्था छैन।’
आफूहरूले प्रशासकीय चालबाजी र षडयन्त्रभित्र फिल्म उद्योगलाई सुरक्षित नदेखेको भन्दै अभिनेता शाहले विधेयकले बोर्डमा मन्त्रालयको हस्तक्षेप बढ्ने बताए।
उनले थपे,‘...त्यसैले विधेयकलाई फिल्मसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्।’
कार्यक्रममा निकै खरो रूपमा प्रस्तुत भएका शाहले बोर्ड अध्यक्षको धारणा सुन्नै चाहेनन्। उनी आफ्नो भनाइ राखेर हलबाट निस्किए। बोर्ड अध्यक्ष केसीले आफ्नो भनाइ सुनिदिन आग्रह गर्दासमेत उनले कार्यव्ययस्तता देखाउँदै उठेर हिँडे।
‘मैले नीर शाह जीलाई बस्न आग्रह गरेको थिएँ,’ केसीले सम्बोधनको क्रममै भने, ‘यद्यपि उहाँ आफ्नो कामले गर्दा बाहिरिनुभयो।’
अध्यक्ष केसीले बोर्डलाई स्वायत्त बनाउनकै लागि आफू बोर्डमा आएको दाबी गरे। बोर्ड स्वायत्त भए मात्र चलचत्रिकर्मीको भविष्य उज्वल हुने भन्दै उनले आफूअघिका अध्यक्षहरू पनि कहाँ चुके भनेर समीक्षा गर्नुपर्ने बताए।
चलचित्र विकास बोर्डलाई केही काम गर्ने अधिकार नभएको भन्दै लाचार बने। बोर्डको अधिकार सबै मन्त्रालय नियन्त्रणमा राखेको उनको भनाइ छ। ४० वर्षअघिको ऐन अहिलेसम्म किन पास नभएको भन्दै उनले निवर्तमान अध्यक्षहरूमाथि प्रश्न गरे।
‘४० वर्ष अघिदेखिको ऐन अहिलेसम्म किन पास भएको छैन? म जागिर खानलाई आएको हैन। यदि कोही व्यक्ति भोलिको दिनमा भुवन केसी यहाँबाट गएको एक महिनाभित्रमा ऐन पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु’, उनले भने।
असोज २३, २०८० मंगलबार १८:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।