कविता : मृत्युवादी कवि
ठीक म मरेकै दिन
म सँग-सँगै यो संसार भरीमा मर्ने
फरक-फरक देशी विदेशी
अनेक थरी, जाती र भाषी
सम्पूर्ण मेरा
सहमृत साथीहरू हो!
भेटौँला है!
बहुचर्चित ‘दी स्टेयर वे टू हेभन’ मा
र त्यो अनन्त सिँढीको उकालो चढ्दै
गाउँला मृत्युको गीत
‘फिफा वर्ल्ड कप सङ्ग’भन्दा चर्को स्वरमा।
उकालीका बिसौनीहरूमा
घरीघरी रोकिँदै र बिसाउँदै
मृत्युकै उत्सव र गुनगानमा
नाचौँला, झुमौँला, रमाउँला
जीवन उत्सवलाई नै भुलाउने गरी
हामी मरेकामा कठै भन्नेहरूलाई
घिस्री-घिस्री तड्पी-तड्पी
बाँचेका घिट्घिटोहरूलाई
तल धरतीदेखि नै ईर्ष्या लाग्नेगरी
र बुझाइदिउँला
यहाँ बाँच्नेहरूलाई
हामी मरेका हौँ जरुर
तर कदापि हारेका हैनौँ
मर्नु भनेको किमार्थ हार्नु हैन
अँह....मर्नु भनेको
हार्नु हुँदै हैन
त्यसैले त कुरा यस्तो छ कि
अरु जे हुन सके पनि
कोहि कवि हुन तबसम्म सक्दैन
जबसम्म उसले
मृत्युको बारेमा प्रेमपूर्ण सोच्न सक्दैन
जबसम्म ऊ जति जीवनवादी छ
त्यति नै मृत्युवादी हुन सक्दैन
जबसम्म ऊ मृत्युवादी हुन सक्दैन
सुरेश राई (बाम्राङ, खोटाङ)
असोज २३, २०८० मंगलबार १७:४३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।