दशैंका लागि बसको टिकट लिन बसपार्क हैन बस सेवा एप, खुल्यो अग्रिम बुकिङ

दशैंका लागि बसको टिकट लिन बसपार्क हैन बस सेवा एप, खुल्यो अग्रिम बुकिङ

काठमाडौं : अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ खुला भएसँगै यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्नसक्ने कम्पनीले जनाएको छ।

यसैलाई लक्षित गरेर नेपालको पहिलो अनलाइन रियल टाइम बस टिकट बुकिङ प्लेटफर्म बससेवा दियालो टेक्नोलोजिजले यात्रुहरुको सुविधालाई मध्यनजर ‘बस सेवा एप’ सन्चालनमा ल्याएको छ। 

बसपार्कमा लामो लाइन बसेर सास्ती पाउने गरेका यात्रुहरूले अब ‘बस सेवा एप’ मार्फत आफ्नो टिकट सुरक्षित गर्न सकिने बस सेवाको संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक पिआर खनाल बताए।

यसको लागि बस सेवाको वेब साइटमा गएर वा ‘बस सेवा एप’डाउनलोड गरेर यो सुविधा लिन सकिने बताइएको छ। यो एप मार्फत आफूले यात्रा गर्ने गाडी र छुट्ने समय समेत थाहा पाउन सकिने उनले बताए।

उनका अनुसार आफूले चाहे अनुसार एसी, डिलक्स तथा माइक्रो बस लगायत विभिन्न गाडी छनोट गर्न पनि सकिने छ। ​​​​​आफुलाई उपयुक्त लागेको सिट र गाडी छनौट भए पछि एक क्लिकको भरमा यात्रुले आफ्नो टिकट सुरक्षित गर्न सक्ने छ। 

‘दशैंको लागि भनेर बस सेवाले दैनिक ४० हजार सिट उपलब्ध गराएको छ। यो सेवा ६० वटा भन्दा बढी जिल्लामा उपलब्ध छ। त्यसको लागि तीन सय १२ वटा बस अपरेटरहरूसँग हामीले सहकार्य गरेका छौं’,  निर्देशक खनालले भने।

‘विशेष गरि पहाडी जिल्लामा जानको लागि यात्रु धेरै हुने र गाडी थोरै हुने हुँदा बस सेवालाई त्यहाँको यात्रुहरूले रुचाउनु भएको पाएका छौँ। हाम्रो हिजै मात्र सात हजार यात्रुले टिकट काटिसक्नुभएको छ’, उनले भने।

दशैंको समयमा मात्र नभएर अन्य कुनै पनि समयमा बस सेवाबाट सुविधा लिन सकिने खनालले बताए। बसपार्कको भिडभाडमा झन्झट बेहोर्नुभन्दा अनलाइन सेवाको प्रयोग गरेर यात्रुहरूले सेवासुविधा लिँदा सहज हुने उनको भनाइ छ।

असोज २३, २०८० मंगलबार १४:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।