सिक्किममा बेपत्ता भएका इलामका १० नेपालीको कुनै पत्तो लागेन

सिक्किममा बेपत्ता भएका इलामका १० नेपालीको कुनै पत्तो लागेन

इलाम : सिक्किममा बेपत्ता भएका इलामका १० नेपालीको हालसम्म कुनै पत्तो लाग्न सकेको छैन। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीका कारण बेपत्ता भएको हुनसक्ने आशङ्का गरिएको छ। 

स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन्। त्यसैले सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्।

बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेत लगायत छन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूले यसअघि नै जानकारी पाएको र  बस्नेत लगायत अन्यको विषयमा पछि बेपत्ता भएको जानकारी प्राप्त भएको बताए।

उनले यसबारे सिक्किमका मिडियामा खबर गरिसकेको बताए। बाढीका कारण त्यस स्थानमा पुग्न कठिन हुनाका साथै  टेलिफोन, विद्युत लगायत सबै सञ्चारका माध्यम अवरुद्ध भएकाले कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।

असोज २३, २०८० मंगलबार १३:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।