कोशी सरकार आफ्नै नेतृत्वमा बनाउने कांग्रेसको निर्णय

कोशी सरकार आफ्नै नेतृत्वमा बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। 

मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताए।

‘नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ’, यादवले भने।  यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो। 

पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाध्यक्षले दिएको विश्वासको मत सर्वोच्चले असंवैधानिक भनेको थियो। 

यसपछि संविधानको उपधारा ३ अनुसार एमालेका हिक्मत कार्कीले असोज २० मा राजीनामा दिएपछि कोशीमा नयाँ सरकारको खोजी भइरहेको छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन

असोज २३, २०८० मंगलबार १३:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।