इजरायलमा हमासको आक्रमणमा परेका प्रवीणले घरमा फोन गर्दै भने : मेरो चिन्ता नलिनु, छिटो फर्की आउँछु
बुटवल : गत भदौ २३ गते इजरायल उड्नुअघि दाङ दंगिशरण गाउँपालिका–३, हेकुलीका प्रवीण डाँगीले ११ महिने ‘अर्न एन्ड लर्न प्रोग्राम’ सकेपछि फर्कने भन्दै बुवासँग विदाइको हात हल्लाए। बुवा निमबहादुर डाँगीले पढ्न हिँडेको छोरालाई आर्शीवाद दिँदै विदा पनि गरे।
छोरा प्रयोगात्मक सिकाइका लागि हिँडेपछि निमबहादुरको विदाइका बखत आँखामा आशु टिलपिल थिए। प्रवीण बुवालाई ११ महिनापछि फर्कने र आफ्नो ख्याल राख्न भनि इजरायल उडे।
इजरायलमा छोरा प्रवीण गएको एक महिना नपुग्दै निमबहादुरको मनमा अहिले त्रास छ। छोराको पिर र चिन्ता छ।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणपछि प्रवीणलाई खुट्टामा चोट लागेको छ। केही समय परिवारको सम्पर्कमा समेत नभएका उनी पछि सम्पर्कमा आए।
छोरालाई खुट्टामा चोट लागेको थाहा भएपछि बरु छोरा त्यो प्रयोगात्मक सिकाई नसकी छिटो घर आए हुन्थ्यो भन्ने बुवा निमबहादुरलाई लागेको छ।
‘पहिले बाँच्नुपर्यो। त्यही भएर सक्दो सरकारले पहल गरेर त्यहाँ रहेका मेरो छोरा सहितका अन्य नेपालीलाई उद्धार गरोस्। फेरी घटना दोहोरिन सक्छ। त्यसैले उद्धारमा ढिलाइ गर्न हुँदैन,’निमबहादुरले भने।
बुवा निमबहादुरका अनुसार प्रवीणलाई दुईवटै खुट्टामा गोली लागेको छ। घर परिवारमा चिन्ता छाएपछि प्रवीणले घरमा फोन गरेर आफ्ना बारे चिन्ता नलिन आग्रह गरेका छन्।
‘आइतबार दिउँसो इजरायलस्थित अस्पतालको शैयाबाट नर्सको मोबाइल मार्फत छोराको कल आएको थियो। कल गर्दा उसले आफू खतरामुक्त रहेको र चिन्ता नलिन भनेको थियो,’ निमबहादुरले भने। सोमबार बिहान पनि प्रवीणले साथीको फोनबाट भिडियो कल गरेको उनले जानकारी दिए।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले प्रवीण परिवारसँग सम्पर्कमा आएको बताए।
प्रवीण बीएस्सी एजी पूरा गरेपछि गत भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको ‘अर्न एन्ड लर्न प्रोग्राम’ मा इजरायल पुगेका थिए।
असोज २३, २०८० मंगलबार ०८:०६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।