बेस्टफ्रेन्ड गायिका रेखा र गीतकार भूपेन्द्र अन्तर्वार्तामा सँगै रोए

बेस्टफ्रेन्ड गायिका रेखा र गीतकार भूपेन्द्र अन्तर्वार्तामा सँगै रोए

काठमाडौँ : एक केटा र केटीबीच गहिरो मित्रता हुन सक्दैन र! सक्छ। तर अझै पनि जसरी केटा केटा वा केटी-केटीको मित्रतालाई सहज रूपमा लिइन्छ केटा अनि केटीको मित्रतालाई समाजले केवल साथीको रूपमा मात्र स्विकार्न गर्न कठिनै छ।

गायिका रेखा शाह अनि गीतकार भूपेन्द्र खड्काको सम्बन्धको घनिष्ठता कला र सञ्चारकर्मीमाझ लुकेको विषय थिएन। तर यी दुवैको सम्बन्ध यी दुवै क्षेत्रका केही प्रतिनिधिमाझ शङ्काको गसिप बनेर घुमिरहेको थियो। शङ्काको सुईको मूल कारण उहीँ भूपेन्द्र केटा अनि रेखा केटी हुनु नै मुख्य थियो।

हालै यी दुवै एक टेलिभिजन कार्यक्रममा सँगै उपस्थित भए अनि दुवैको सम्बन्ध प्रस्ट पारे बेस्टफ्रेन्ड। कार्यक्रम थियो मेरो एउटा साथी छ।

कार्यक्रममा दुवैले आफ्नो सम्बन्ध अनि सम्बन्धको दायरा प्रस्ट खुलाए। गीतकार र गायिकाबाट सुरु भएको परिचय कसरी बेस्टफ्रेन्डमा बदलियो सार्वजनिक गरे। मित्रताको तह प्रष्ट खुलाए।

नेपाली साहित्य क्षेत्रमा 'बुक हिल त रेखाले भूपेन्द्रको लागि खोलिदिएको रैछ नि' भन्ने खासखुस चलेको पनि लामै भयो। त्यो खासखुस पनि सोमबारबाट बन्द भयो।

टेलिभिजन कार्यक्रममा दुवैले बुकहिल प्रकाशन प्रालीको जन्मको पृष्ठभूमि र लगानीकर्ता दुवै खुलाए। रेखा लगानीकर्ता भएको दुवैले लुकाएनन्।

गायिका रेखाको जीवनमा २०७२ तिर दुर्घटना भएको थियो। उनी त्यो बेलामा मिटर ब्याजीको आरोपमा पक्राउ परेकी थिइन्।

छोरालाई दिएको पैसा फिर्ता नभएपछि रेखाले आफूलाई धम्क्याएको भन्दै सुवासराज काफ्लेले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीले उनीमाथि कहिले ठगीको त कहिले ७३ लाख दिएर डेढ करोड मागेको दाबी सार्वजनिक गरिरह्यो।

उनी अनमोल केसीझैँ अदालतमा बसेर प्रहरी हिरासत छल्ने भाग्यमानी भइनन्। १० दिन जिल्ला प्रहरी परिसर काठमाडौँकै हिरासतमा बसिन्। पछि अदालतबाट सफाइ पाइन्।

प्राय : शाहको अन्तर्वार्तामा यो प्रसङ्ग छुट्दैन। जब यो प्रसङ्ग आउँछ उनी काठमाडौँका तत्कालीन एसएसपी विक्रमसिंह थापाले दुर्व्यवहार गरेको र कुनै दोष नभए पनि थुनेको बताउँछिन्।

उनको दाबी अनुसार काफ्लेसँग ७३ लाखको कारोबार भएको हो। तर उनले घर किन्न पैसा दिएकी हुन् न कि मिटर ब्याज या ठगी।

जब यो प्रसङ्ग आउँछ रेखा भावुक हुन्छिन्। प्राय : एक्लै अन्तर्वार्ता दिने रेखा भावुक पनि एक्लै हुन्थिन्।

सोमबार कार्यक्रममा सञ्चालिका सदीक्षा श्रेष्ठले त्यही प्रसङ्ग निकाल्दा रेखासँगै भूपेन्द्र पनि थिए।

पक्राउ पर्दा, प्रहरी हिरासतमा बस्दाको अवस्था अनि अदालत लैजाँदा हातमा लागेको हतकडी सबै प्रसङ्ग आउँदा पहिला भूपेन्द्र रोए। पछि रेखा।

रेखा हिरासतमाहुँदा भूपेन्द्रले चिसो लाग्ला भनेर ज्याकेट किनेर हिरासतमा दिएका रहेछन्। गायिका रेखा भन्दै थिइन्' मेरो जीवनको सबैभन्दा अमूल्य उपहार त्यही हो।'

असोज २३, २०८० मंगलबार ०२:२१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।