इजरायलको बङ्करमा सरकार कुरिरहेका नागरिकलाई उद्धारको सट्टा 'विज्ञप्ति' दियो सरकारले

इजरायलको बङ्करमा सरकार कुरिरहेका नागरिकलाई उद्धारको सट्टा 'विज्ञप्ति' दियो सरकारले

काठमाडौँ : इजरायल र प्यालेस्टाइनविच युद्ध सुरु भएपछि प्रभावित क्षेत्रका नेपालीहरू ज्यान जोगाउन तीन दिनदेखि बङ्करमा बसेर सरकारलाई उद्धारका लागि गुहार मागिरहेका छन्।

यता सरकार भने शोक दिवसको निर्णय, गम्भीर चासो र चिन्तामा व्यस्त छ। इजरायलमा द्वन्द्व सुरु भए लगत्तै भारतले त्यहाँ रहेका नागरिकहरूलाई सुरक्षित गराउन चार्टड उडानबाट उनीहरूलाई स्वदेश ल्याइरहेको छ।

हमासको बन्धकमा परेका आफ्ना नागरिकहरूलाई छुटाउन कतार लगायतका देशले कूटनीतिक पहल सुरु गरेका छन्।
तर त्यही बेलामा हमासको नियन्त्रणमा पुग्न सक्ने नेपाली नागरिकको जीवनको चिन्तै नगरी यता नेपालको परराष्ट्र मन्त्रालयबाट 'आतङ्कवादी आक्रमण' भएको भन्दै आक्रमणप्रति खेद व्यक्त गरिसकेको छ।

१० जना नेपालीको मृत्यु भइसकेको छ। उनीहरू हवाई आक्रमणमा मारिएका हुन् या हमासका लडाकुले नियन्त्रणमा लिएर हत्या गरेको हो प्रस्ट भएको छैन।

सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायबाट अध्ययन गर्न इजरायल गएका विपिन सुवेदीसहितले बङ्करबाटै भिडियो बनाएर उद्धारका लागि सरकारलाई आग्रह गरेका थिए। इजरायलमा ४९ जना विध्यार्थीहरु कृषिको प्राविधिक ज्ञान लिन ११ महिनाका लागि इजरायलमा गएका थिए। उनीहरू सबै अलपत्र परेका छन्।

वैदेशिक रोजगारीका लागि इजरायल गएका नेपालीहरू समेत गरेर चार हजार पाँच सय भन्दा बढी नेपाली त्यहाँ रहेका छन्।

तर सरकारले अहिलेसम्म उनीहरूको उद्धार गर्न सकेको छैन। इजरायलमा रहेको नेपाली दूतावासका अधिकारी र नेपालमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू विज्ञप्ति निकाल्दै बसेका छन्। उद्धारका लागि नेपालबाट विशेष विमान पठाउन सक्थ्यो सरकारले। तर पठाउन सकेको छैन।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीलाई नेपाल एयरलाइन्स अनि हिमालय एयरलाइन्सको चार्टर विमान पठाउने निर्णय त गर्यो। तर कहिले उल्लेख गरेको छैन। मन्त्रिपरिषद्ले यथाशीघ्र भन्ने शब्द प्रयोग गरेको छ।

असोज २२, २०८० सोमबार २२:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।