उकेरा टप फाइभ : बत्तीस वर्षदेखि औँठी चम्काइरहेका राजनको अँध्यारो अनुभवदेखि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउनेसम्म

उकेरा टप फाइभ : बत्तीस वर्षदेखि औँठी चम्काइरहेका राजनको अँध्यारो अनुभवदेखि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउनेसम्म

काठमाडौं : सोमबार प्रतिनिधि सभाको बैठक बस्यो। बैठकमा सांसदहरूले इजरायलमा अतिवादी हमास समूहको आक्रमणमा परेर मृत्यु भएका नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउन र त्यहाँ भएका नेपालीलाई उद्धार गर्न सरकारसँग माग गरे।

सोमबार नै मन्त्रिपरिषद्को बैठक बस्यो। बैठकले मंगलबार शोक घोषणा गर्यो भने इजरायलमा हमास समूहको आक्रमणमा मृत्यु भएका प्रत्येक परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गर्यो। यस्तै सरकारले त्यहाँ रहेको नागरिकलाई स्वदेश फर्काउन तत्काल पहलसमेत गर्ने निर्णय गर्यो।

सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी निवासअघि आममाफी दिएको विरोधमा प्रदर्शन भयो। प्रदर्शनमा सहभागी ११ जनालाई प्रहरीले पक्राउ गर्यो।

सोमबारदेखि नै दशैंका लागि घर जानका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्यो। गत शुक्रबार यातायात व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र यातायात व्यवस्था विभागबीच भएको सहमतिपछि अग्रिम टिकट बुकिङ खुलाइयो।

अब लागौं उकेरा टप फाइभतर्फः
सोमबार बिहान उकेराले वर्षौंअघि उद्घाटन भएको भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको समाचार लेख्यो। उद्घाटनको ३ वर्षमा बल्लतल्ल ५ वटा उद्योगहरू सेजमा आए। सेजमा आएका उद्योगहरूले उत्पादन सुरु गरी बाह्य मुलुक निर्यात पनि गरेका छन्। तर, सेज भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
पूरा समाचारः उद्योग स्थापना भएर सामानले भरिनुपर्ने ‘भैरहवा विशेष आर्थिक क्षेत्र’ झाडीले पुरिँदै

सोमबार दिउँसो उकेराले तीन दशकदेखि काठमाडौंको अँध्यारो कोठामा झलल बत्ती बाल्दै एकनासले काम गरिरहेका राजन आचार्यको अनुभव हिजोका कुरामा समेट्यो। खासै उत्साह नभए पनि उनले यो काम ३१ वर्षदेखि गरिरहेका छन्।
पूरा समाचारः बत्तीस वर्षदेखि चाँदीका औँठी चम्काएका राजन आफ्नै जीवन नचम्किएकोमा दिक्क छन्

दिउँसो नै उकेराले मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई मोसो दलेको समाचार लेख्यो। जमलको एक होटलमा पत्रकार सम्मेलन गरेका उनलाई त्यहिँ मोसो दलेर दुर्व्यवहार गरियो।
पूरा समाचारः जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

दिउँसो उकेराले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको समाचार लेख्यो।
पूरा समाचारः इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक घोषणा

साँझपख उकेराले डा. कालुसिंह खत्रीको विचार प्रकाशित गर्यो। जहाँ पंक्तिकारले पछिल्लो समय देशमा सामाजिक सद्भावमा खलल पुर्याउके किसिमक गतिविधि भइरहेको र त्यसबाट राजनीतिक दलबाहेक अरुले फाइदा लिन नसक्ने धारणा राखेका छन्।
पूरा समाचारः राजनीति जनता जुधाएर सत्तामा पुग्ने मार्ग मात्र हो ?

असोज २२, २०८० सोमबार २२:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।