पाकिस्तानी पत्रकार जैनबलाई भारतबाट ‘डिपोर्ट’ गरिएको दाबीबारे बोल्यो आईसीसी

पाकिस्तानी पत्रकार जैनबलाई भारतबाट ‘डिपोर्ट’ गरिएको दाबीबारे बोल्यो आईसीसी

एजेन्सी : पाकिस्तानी खेल पत्रकार तथा कमेन्टेटर जैनब अब्बासलाई भारतबाट डिपोर्ट नगरिएको बताइएको छ।

विश्वकपका लागि आईसीसी प्रस्तोताहरू मध्ये एक अब्बास भारतबाट फर्किएपछि अधिकारीहरूले उनलाई ‘डिपोर्ट’(जबरजस्ती फिर्ता पठाएको) भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको छ।

तर, अब आईसीसीले भने उनी ‘व्यक्तिगत कारणले’ फर्किएको बताएको छ।

आईसीसीका मिडिया तथा सञ्चार निर्देशक क्लेयर फर्लाङले बीबीसीलाई बताइन् , ‘उहाँ व्यक्तिगत कारणले घर फर्किनुभएको हो। देश निकाला गरिएको छैन।’

आईसीसीले यस विषयमा स्पष्ट पार्ने प्रयास गरे पनि भारतीय मिडिया र सामाजिक सञ्जालमा उनी फिर्ता हुनुको अलग–अलग कारण बताइएको छ।

पुराना ट्वीट भाइरल भएपछि जैनबलाई धम्की आएको रिपोर्ट र सोशल मिडियामा दाबी गरिएको छ। उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ।

तर, जैनब अब्बासले भने यस विषयमा अहिलेसम्म केही भनेकी छैनन्। के ‘व्यक्तिगत कारण’ले फर्किएकी हुन् भन्ने विषयमा पनि उनी मौन छिन्।

अक्टोबर ५ बाट भारतमा विश्वकप सुरू भएयता जैनबका एक वर्षअघि पुराना ट्वीटको चर्चा छ। यसमा उनले हिन्दू धर्म र भारतको बारेमा अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।

ट्विट भाइरल भएपछि उनलाई धम्की आइरहेको र त्यही भएर फर्किएको दाबी पनि गरिएको थियो। जैनबको धारणा जान्नका लागि सम्पर्क गरे पनि कुनै प्रतिक्रिया नआएको बीबीसीले जनाएको छ।

पाकिस्तानमा, ह्यासट्याग जेनब अब्बास, सामाजिक प्लेटफर्म एक्समा शीर्ष प्रचलनमा छ।

को हुन् जैनब खान ?
जैनबले २०१५ को विश्वकपमा पाकिस्तानको न्यूज च्यानल दुनिया न्यूजबाट आफ्नो खेल प्रसारक करियर सुरु गरेकी थिइन्।

२०१६ मा, उनी पाकिस्तान सुपर लिगको शोको प्रस्तोता बनिन्। यसपछि उनले खेलकुद एङ्करको रुपमा परिचित भइन्। सोही वर्ष, उनी बीबीसीको टेस्ट म्याच विशेष कार्यक्रममा सामेल भइन् र पाकिस्तानको इङ्गल्याण्ड भ्रमणको समाचार कभर गरिन्।

उनी २०१९ क्रिकेट विश्वकपमा पाकिस्तानमा पहिलो महिला खेलकुद रिपोर्टर र कमेन्टेटर बनिन्। जैनबले जुलाई २०२१ मा स्काई स्पोर्ट्समा डेब्यु गरेकी थिइन्।

असोज २२, २०८० सोमबार २१:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।