इजरायल घटनाले प्रधानमन्त्री मर्माहत

इजरायल घटनाले प्रधानमन्त्री मर्माहत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा अतिवादी समूह हमासले गरेको आक्रमणमा नेपाली विद्यार्थीले निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री दाहालले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका नेपालीप्रति सम्मान गर्न यही असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नागरिकको शव नेपाल ल्याउने र उद्धारको पर्खाइमा रहेकालाई नेपाल फर्काउन पहल थालिसकेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा अपिल गरेका छन्।

शनिबार बिहान हमासले इजरायलमा गरेको सात हजार बढी रकेट आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। अन्य केही विद्यार्थी घाइते भएका छन्। उनीहरूको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

असोज २२, २०८० सोमबार १९:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।