ज्यान मार्ने धम्कीपछि शाहरुख खानको सुरक्षा ‘वाई प्लस’ बनाइयो
एजेन्सी : भारतको महाराष्ट्र प्रहरीले बलिउड अभिनेता शाहरुख खानको सुरक्षा बढाएको छ।
ज्यान मार्ने धम्की आएको भन्दै खानले प्रहरीमा उजुरी दिएपछि महाराष्ट्र प्रहरी उनको सुरक्षा कभर वाई प्लस बनाएको छ।
वाई प्लस सेक्युरिटीमा ६ कमाण्डो र एक प्रहरी एस्कर्ट गाडीसहित ११ सुरक्षाकर्मी हुन्छन्।
एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले फिल्म ‘जवान’ रिलिज भएपछि शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको बताएको छ।
तर, यो सुरक्षा कभरको खर्च शाहरुख खानले आफैँले बेहोर्नुपर्नेछ।
समाचार एजेन्सी एएनआईका अनुसार शाहरुख खानले महाराष्ट्र सरकारलाई ज्यान मार्ने धम्की आएको भन्दै लिखित उजुरी दिएका थिए।
शाहरुख खानको घरमा पनि मुम्बई प्रहरीका चार जना हतियार सहित चौबिसै घण्टा उपस्थित रहने प्रहरीले जनाएको छ।
प्रहरी अधिकारीले गत हप्ता उच्चस्तरीय समितिको बैठकपछि शाहरुख खानको सुरक्षा बढाउने निर्णय भएको बताए।
असोज २२, २०८० सोमबार १७:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।