बत्तीस वर्षदेखि चाँदीका औँठी चम्काएका राजन आफ्नै जीवन नचम्किएकोमा दिक्क छन्

बत्तीस वर्षदेखि चाँदीका औँठी  चम्काएका राजन आफ्नै जीवन नचम्किएकोमा दिक्क छन्

अँध्यारो कोठामा झलल बत्ती बाल्दै एकनासले काम गरिरहन्छन्, राजन आचार्य। कामको माग राम्रै छ। तर परिश्रम अनुसारको आम्दानी भने चित्तबुझ्दो छैन। ३१ वर्ष भयो उनले यही काम गरिरहेको अहिले आएर उनमा खासै उत्साह छैन।

धादिङमा जन्मिएका उनी स्कुल जान निकै अल्छी गर्थे। उनी १७ वर्षको हुँदा छ कक्षामा पढ्थे। पढाइ भनेपछि फिटिक्कै मन नपर्ने। घरबाट निकै टाढा स्कुल। घरबाट स्कुल जान निस्कन्थे तर अन्तै खेल्न पुग्थे।

‘त्यो बेलामा पढ्नपर्छ भन्ने नै लागेन। गाउँमा अरु पढ्न जान थालेपछि बल्ल स्कुल भर्ना भएको। तर पढ्न मन भएन। एक त ठूलो भएपछि स्कुल गएको, पढ्न पनि आएन। स्कुल जाने भनेर निस्किएपछि को कहाँ गयो खोजी पनि हुँदैनथ्यो' उनले भने।

पढ्न अल्छी लागेपछि उनि  साथीहरूसँग भागेर काठमाडौँ आए। त्यो बेलामा जाँच चलिरहेको थियो। फेल भयो भने त पढ्नपर्दैन भन्ने लागेर उनी जाँच छल्न काठमाडौँ आए। 

उनी काठमाडौं आए लगत्तै गणेशथानमा विभिन्न चाँदीको गहना बनाउने ठाउँमा चिनजान भयो। त्यहीँ  काम सिक्न थाले। तीनजना मध्ये दुई जनाले लामो समय काम गरे। एकजना साथी घर फर्किए।

पढाइ छल्न आएका उनलाई काम गर्ने इच्छा  खासै थिएन। तर, काम सिक्दा खाना पनि पाउने भएपछि उनले नाइँ भनेनन्।

‘त्यतिखेर यो काम राम्रै थ्यो। कामको मान्यता पनि थियो। भ्याइनभ्याई हुन्थ्यो नि! अहिले त धेरै मेसिनहरू आए। चाँदीको भाउ पनि बढेको बढ्यै गर्न थाल्यो। हाम्रो ज्यालामा सुधार भएन' उनले भने।

उनलाई अहिले बेकारमा घरबाट भागिएछ भन्ने लाग्ने रहेछ। तर अब समय घर्किसक्यो। कमसेकम भागेर काठमाडौँ नआएको भए पढाई हुन्थ्यो, त्यो पनि नभए किसानी काम गरेर बसिन्थ्यो भन्ने लाग्ने रहेछ अहिले उनलाई।

जब उनी काठमाडौँ आएर गहना बनाउने काम शुरु गरे चाँदीको औँठी बनाउन सिक्न दुई महिना लाग्यो। ज्याला पाउँदैनथे। तर खाना दिन्थे। त्यसैमा खुसी भए उनी।

उनले दिनमै डेढ-दुई सय वटासम्म विभिन्न प्रकारका औँठी बनाउन थाले। सुनको औँठी पनि बनाए। विस्तारै खानासँगै ज्याला पनि आउन थाल्यो। 

‘त्यो बेलामा ग्राहक आफैँले कोरेर  डिजाइन बनाउन ल्याउँथे। एउटै औँठीको ज्याला आठ-दश रूपैयाँ लिए पनि दिनमा  हजारसम्म कमाउन सक्थ्यौँ। अहिले  एउटै औंठीको डेढ-दुई सय ज्याला भए पनि पाँच सय भन्दा बढी कमाउन सकिरहेको छैन।’

औँठीबाहेक उनले झुम्का र लकेट पनि बनाउने गर्छन्। तर, पहिलेदेखि नै सबैभन्दा धेरै डिमाण्ड आउने भनेकै औँठी रहेछ। डिजाइनसँगै चाँदी अनि पत्थर ग्राहकले नै ल्याउँछन्।

‘अहिले त गाह्रो छ! सबै महँगो छ। ज्याला सस्तो छ। ज्यामी काम गर्नेले दिनको १५ सय, दुई हजार पाउँछन्। हामीले त काँ त्यति कमाउन सक्नु।’

करिब पाँच वर्षसम्म उनले त्यहाँ काम गरे। पछि बुवा बितेको खबर आयो अनि धादिङ फर्किए। त्यसपछि विभिन्न विदेशीहरूसँग काम गरे। काम छोड्ने क्रम चलिरहेकै बेला माओवादी विद्रोह शुरुभयो। काम ठप्प। पसलहरू बन्द हुन थाल्यो।

इटालीका नागरिकसँगै गोवा यात्रा

एक जना इटालीका नागरिकले भारतको गोवामा काम गर्ने भनेर उनलाई लिएर गए। त्यहि बेलामा केहि पैसा कमाए अनि छोराछोरीको पढाइमा खर्च गरे। ती इटाली नागरिक भारतबाट फर्किएपछि राजन पनि काठमाडौं फर्किए।

‘काम त्यस्तो नराम्रो पनि होइन। पैसा पनि छ। तर, बिचौलियाहरूले विचमा खान्छन्। हामी काम गर्नेलाई केहि फाइदा छैन,’ उनी भन्दै गए, ‘बिचौलियाले त धेरै महँगोमा ल्याउने रहेछ नि! के गर्नु ग्राहकसँग हाम्रो सिधै सम्पर्क पनि हुन सक्दैन। त्यसपछि बिचौलियाकै भर पर्नपर्छ!’

गोवाबाट फर्किएपछि उनले आफ्नै पसल खोले। तर, लगानी धेरै गरेनन्।

‘लगानी गर्यो भने त हुन्छ होला! तर, आँटै आएन। त्यसको लागि ऋण लिनु पर्छ। फेरि ब्याज दिने कि, भाडा तिर्ने! त्यो भन्दा जति हुन्छ त्यति नै गर्ने भन्ने लाग्यो।’

आफ्नै काम भएपछि बाध्यतामा ेकाम गर्न नपरेको उनी सुनाउँछन्। अहिले पहिले भन्दा अलि सहज पनि लाग्न थालेछ उनलाई।

यति धेरै निरास भएर पनि पनि यही काममा किन अल्झेर बसेको त? उनी भन्छन्, ‘विदेश जाने सोचिनँ। हाम्रो पालामा अहिले जस्तो विदेश जाने चलनै थिएन। अब अहिले जान उमेरले दिँदैन।’

‘...अनि छोरालाई यो कामबाट टाढै राखेँ’
गहना बनाउने उनका धेरै साथीहरू गाउँ फर्किए। केहि त विदेश पनि गए। तर, राजन भने खेतीपाती गर्न पनि गाह्रो हुन्छ भनेर यतै बसे। तर अवस्था सुधारिएन।  कहिले दिनको सय रूपैयाँ कमाएर उनको दिन कट्थ्यो।

‘जति छ त्यतिमै खुशी हुन थाल्यो भने अगाडि बढ्न नसकिने पक्का रहेछ। गोवामा कमाएर आएकोले छोराछोरीहरूलाई पढाइयो। उनीहरू कमाउन बाहिर पनि गइसके। आफ्नो खर्च आफैँ धान्ने भइसके। अब त जति हुन्छ जसोतसो बुढाबुढीलाई पुग्छ। त्यै भएर पनि कमाउनपर्छ, केही गर्नपर्छ भन्ने नै भएन। खानको लागि जसोतसो पुगिरहेकै छ’, उनले भने।

यो कामबाट खासै फाइदा नभएको कारण उनले आफ्नो सन्तानलाई यो काममा लगाउने हिम्मतै गरेनन्। बरु जति सक्दो टाढै राखे। पढाइमा ध्यान लगाउन लगाए। त्यसैले उनका कुनै सन्तानले उनको काममा रुची पनि देखाएनन्। अहिले त घरबाट उनलाई समेत काम छाड्न दबाब आउने गरेको रहेछ। तर अर्को सिप नभएकाले छाड्न नसकेको बताए उनले।

‘आफैँ यो कामबाट खुसी भएको भए पो सान्तानलाई पनि गर भन्न आँट आउनू। परिश्रम अनुसारको मान्यता र इज्जत नभएपछि उसलाई यो गर भन्न मनले नै मानेन’ उनले भने।

उमेर ५० कटिसक्यो। चौबिसै घण्टा बत्तिमा बसेर काम गर्दा चस्मा झुण्डिएको पनि धेरै भइसक्यो। चस्माविना काम गर्न सक्दैनन्। ज्यानले धानेसम्म काम गर्ने उनको सोच रहेछ। नसकेपछि त सन्तानले हेर्छन् भन्नेमा ढुक्क छन्।

‘देश-विदेश नबुझेका, नपढेकाहरू त गोरु जोतेजस्तो जोतिने रहेछन्। त्यहि पनि के गर्ने त भन्यो यहि गर्यो बस्यो। कमाउन सकिएन भनेर के गर्ने? काम छाडेको छैन, गरेको गर्यै छु। यो भन्दा बढी के गर्ने? आफूले पढाइमा ध्यान दिन नसके पनि छोराछोरीलाई पढाएको छु। त्यसैमा खुसी छु’, उनले भने।

असोज २२, २०८० सोमबार १५:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।