‘रिगल’लाई आममाफी दिएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जना पक्राउ

‘रिगल’लाई आममाफी दिएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जना पक्राउ

काडमाडौं : बाँकेको नेपालगन्जमा खुँडा प्रहार गरी दिनदहाडै व्याक्ति हत्या गर्ने  योगराज ढकाल (रिगल)लाई आममाफी दिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा रिगललाई आममाफी दिएको भन्दै सोमबार कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो। 

प्रहरीको निषेधित क्षेत्र नाघेर प्रदर्शन गरेका ११जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।  उनीहरूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान-पुलिस एकेडेमी अगाडि ट्राफिकचोकबाट प्रदर्शन सुरू गरेका थिए। 

रिगलले २०७२ सालमा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए। हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएपछि उनी कारागार मुक्त भएका थिए।

चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर गरेकी छन्। 

पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन्।

असोज २२, २०८० सोमबार १४:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।