इजरायलमा अलपत्र नेपालीको उद्धार गर्न माग गर्दै टीकापुरका विद्यार्थी आन्दोलित

इजरायलमा अलपत्र नेपालीको उद्धार गर्न माग गर्दै टीकापुरका विद्यार्थी आन्दोलित

धनगढी  : दक्षिण इजरायलको युद्धग्रस्त क्षेत्र किवुज अलुमिममा फसेका नेपाली नागरिकको उद्धारकाे माग गर्दै कैलालीको टीकापुरमा विद्यार्थी  आन्दोलित भएका छन्। 

इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धारको माग गर्दै उनीहरुले सोमबार मौन र्याली निकालेका हुन्। 

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश जना विद्यार्थीको प्यालेस्टाइनको समूह हमासको आतंकवादी हमलामा परि मृत्यु भएको छ। 

हमलामा चार जना घाइते भएका छन्। एक जना अझै सम्पर्कविहिन रहेको बताइएको छ।  उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका थिए। 

मौन र्याली गरेको स्नातक तह कृषि विज्ञान सङ्काय दोस्रो वर्षका विद्यार्थी मेनुका जोशीले आफ्ना साथीहरु इजरायलमा फँसिरहँदा चिन्ता लागेको बताइन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिष घिमिरे अरु देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको तर हाम्रो सरकारले अहिलेसम्म पनि ‘पहल गर्दैछु’ मात्र भनिरहेको भन्दै छिटो उद्धार गर्न अपिल गरे। 

 इजरायलमा ज्यान गुमाउने सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका छन्। नेपाल सरकार र इजरायल सरकारको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत आठौं सेमेष्टरका ४९ जना विद्यार्थी एक महिनाअघि इजरायल गएका थिए। 

असोज २२, २०८० सोमबार १३:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।