‘परदेशी २’ रिलिज नहुँदै प्रकाशले भने : अब फिल्मको ५१ दिन मनाउने सेलेब्रेसनमा भेटौं

‘परदेशी २’ रिलिज नहुँदै प्रकाशले भने : अब फिल्मको ५१ दिन मनाउने सेलेब्रेसनमा भेटौं

काठमाडौं : गायकबाट नायक बनेका प्रकाश सपुत आफूले अभिनय गरेको फिल्म ‘परदेशी २’ सफल हुनेमा ढुक्क छन्।उनले फिल्म रिलिज नहुँदै फिल्मले ५१ दिन मनाएको सपना बाँडेका छन्।

आइतबार नयाँ बानेश्वरमा भेटघाटका क्रममा प्रकाशले आफू घुमेको ठाउँमा फिल्मको प्रतिक्रिया राम्रो पाएको र फिल्म हेर्न दर्शक आउने दाबी गरिरहे। उनलाई हेर्दा लाग्थ्यो, फिल्म चलेर दर्शक हलमा हुलका हुल गइरहेका छन्। 

उनले कुराकानीमा फिल्मको नाम अधिकांशले सुनिसकेको र अब सुन्न बाँकी कमै रहेको बताए। प्रकाशले भने, ‘अब फिल्मको ५१ दिन मनाउने सेलेब्रेसनमा भेटौं।’

प्रकाशलाई हिरो बनाएर निर्देशक तथा निर्माता नारायण रायमाझीले फिल्म ‘परदेशी’को सिक्वेल बनाए। जुन यही शुक्रबारबाट हलमा लाग्दैछ।

आइतबार प्रकाशले फिल्मका निर्देशक नारायण रायमाझीको तारिफ गरिरहे। उनले भने, ‘जतिबेला फिल्मका निर्माता राजेश वंशल र नारायण रायमाझी सरले मलाई हिरो बनाउने सपना देख्नुभयो अहिलेको जस्तो उचाई थिएन। त्यस कारण मेरो आत्मविश्वास एकदमै कमजोर थियो।’

प्रकाशले फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै भने, ‘थुप्रै काम गरिसक्नु भएका केकी अधिकारी र वर्षा शिवाकोटीले फिल्ममा काम गर्दा आत्मविश्वास बढाइदिनुभयो। तँ हिरो बन्न सक्छस् भन्ने खालको ढाडस दिनुभयो। त्यसैले गर्दा पनि हिरो बनेको हुँ।’

गायनमा आफूलाई स्थापित गर्न लागि परिरहेको बेला गायक प्रकाश सपुतले हिरो बन्ने सपना पूरा गर्नेतर्फ ध्यान दिएका थिएनन्। उनलाई हिरो बन्न पाए हुन्थ्यो भन्ने त लागेको थियो तर कसैले हिरो बनाइदिन्छ भनेर कुनै कल्पना नै गरेका थिएनन्।

गायनमा प्रकाश लोक तथा दोहोरीमा विस्तारै जम्ने कोसिस गरिरहेका थिए। ४ वर्षअघि दोहोरी ब्याटलमार्फत् उनको चर्चा चुलियो। उनी दर्शकमाझ परिचित बन्न थाले।

सोही समयमा रायमाझीले फिल्ममा हिरोका रुपमा काम गर्नका लागि उनलाई प्रस्ताव राखे। प्रकाशले त्योबेला निकै सोचेर ‘हुन्छ’ भनेका थिए।

असोज २२, २०८० सोमबार १२:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।