हाजिरी जमानीमा छुटे ’प्रसाद २’ विवादमा पक्राउ परेका अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठ अझै फरार

हाजिरी जमानीमा छुटे ’प्रसाद २’ विवादमा पक्राउ परेका अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठ अझै फरार

काठमाडौं :  फिल्म ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। 

गत शुक्रबार पक्राउ परेका अग्रवाललाई आइतबार राति जिल्ला प्रहरी परिसर काठमाडौँले हाजिरी जमानीमा रिहा गरेको हो। प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी हाजीरी जमानीमा  छोडेको प्रहरीले जनाएको छ। 

फिल्मका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा उनी पक्राउ परेका थिए। 

उनलाई प्रहरीले आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।

अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। 

‘प्रसाद २’का निर्माताहरु सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरी बिना स्वदेश तथा विदेशमा फिल्म प्रसारण गरि आफूहरुलाई १ करोड ५० लाख रुपैयाँ  ठगी  गरेकाे भन्दै आपराधिक विश्वासघात अन्तर्गत उजुरी दिएका थिए।

अग्रवालको ओएसआर डिजिटलले निर्माता सुवास थापाबाट ‘प्रसाद २’को युट्युब राइट्स खरिद गरेको थियो। अहिले निर्माता थापा बैंकिङ कसूर र ठगीको मुद्धामा फरार छन्। उनले फरार हुनुभन्दा अगाडि सुदर्शन र ज्याकलाई फिल्मको सम्पूर्ण स्वामित्व दिएका थिए। 

आफ्नो स्वामित्वमा रहेको फिल्ममा मनोमानी गरेको भन्दै उनीहरुले अग्रवालविरुद्ध उजुरी दिएका हुन्। उनीहरुले उजुरीको आधारमा अग्रवालसहित फिल्म निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि उजुरी हालेका थिए। 

निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी समेत गरिसकेको छ। उनीहरु अहिले प्रहरीको फरार सूचीमा रहेका छन्। 

फरार दुवैको खोजिकार्य भइरहेको प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डेले बताए। ‘अहिलेसम्म उहाँहरु पक्राउ पर्नुभएको छैन। खोजिरहेका छाैँ।’ पाण्डेले भने। 

असोज २२, २०८० सोमबार ११:१४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।